बैंकक, २१ असार सिन्ह्वा

थाइल्यान्डको राजधानी बैंककनजीकैको एउटा रासायनिक कारखानामा सोमवार विस्फोट भई भएको आगलागीमा कम्तीमा २० व्यक्ति घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । समुत प्राकान प्रान्तको बाङ्ग फली जिल्लामा स्थानीय समय अनुसार बिहान तीन बजेतिर विस्फोट हुँदा ‘प्लास्टिक फोम’ उत्पादन गर्ने कारखानामा क्षति भएको थियो ।

विस्फोटपछि उक्त प्लान्टमा ठूलो आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विस्फोट सन् १९८९ मा थाइल्यान्डमा स्थापना गरिएको ताइवानी मिङ दिह नामक केमिकल कम्पनीमा भएको हो । चिनियाँ राजदूतावासका अनुसार घटनामा कम्तीमा एक चिनियाँ नागरिक घाइते भएको बुझिएको छ ।

कारखानामा कम्तीमा २० टन रासायनिक सामग्री रहेको बताइएको छ । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । घाइतेहरूमा अधिकांश कारखानामा काम गर्ने श्रमिकस्तरका कर्मचारी रहेका छन् भने विस्फोटपछि लागेको आगलागीका कारण कारखाना वरपर रहेको आवासीय क्षेत्रसमेत प्रभावित भएको छ ।

स्थानीय सरकारले खतरनाक रासायनिक सामग्रीबाट आएको ग्यास र अर्को विस्फोट हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीयलाई कम्तीमा पाँच किलोमिटर क्षेत्रमा बस्ती खाली गर्न र सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । उनीहरूलाई जिल्लाको एक विद्यालयमा अस्थायी आश्रय प्रदान गरिएको जिल्ला प्रमुख बाङ्ग फली सोमसाक काओसेनाले बताए । विस्फोट र आगलागीको कारण अझै पत्ता लागिनसकेको तर अनुसन्धान शुरू भइसकेको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here