अतामी, जापान, २० असार/एएफपी
जापानमा पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतवार पनि खोजी कार्य जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । पहिरोमा परी कम्तीमा दुईजनाको मृत्यु पुष्टि भएको छ भने अरू १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ ।
जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरू २० जना अझै पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् । स्थानीय सरकारी अधिकारीहरूले खोजी कार्य जारी रहे पनि बेपत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् ।
अत्यधिक वर्षासँगै शनिवार बिहान भीषण पहिरो गएको थियो । घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गरेका छन् । उनले खोजी तथा उद्धार र राहत कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् । रासस