अफगानिस्तान, २० असार/एएफपी

अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्षपश्चात् कन्दाहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महीनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाईलाई तीव्र बनाएको छ ।

कन्दाहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रूपमा लिने गर्दछ । गत मे महीनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरूलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । काबुलनजीकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुर्ई दिनभित्रै कन्दाहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरूले नियन्त्रणमा लिएका छन् । बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अलकायदाविरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो ।

विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक–पटक सङ्घर्ष हुँदै आएको छ । कन्दाहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रूपमा लिने गरेको छ । पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए । उनले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए ।कन्दाहारका प्रान्तीय परिषद्का प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिबानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाए ।

अफगानिस्तानका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिबानले दाबी गरेको छ । सरकारी फौजले बघराम हवाई मैदानलाई आतङ्कवादविरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरूले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here