प्रस, वीरगंज, १८ असार/
आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आवको साउनदेखि जेठ मसान्तसम्म ११ महीनामा ७ अर्ब २२ करोड ५३ लाख ६८ हजार राजस्व असुली गरेको छ। यो अवधिमा राजस्व कार्यालयले ९ अर्ब ४ करोड ४८ लाख ४७ हजार लक्ष्य पाएकोमा कोरोना महामारीको कारण वैशाख र जेठमा निषेधाज्ञा लागेकोले कुल राजस्व लक्ष्य भेट्न सकेन।
कुल राजस्वको ७९.८८ प्रतिशत राजस्व सङ्कलन गरेको राजस्व कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी हृदयनारायण महतोका अनुसार चालू आवको ११ महीनामा आयकरतर्फ १ अर्ब ४० करोड १७ लाख ३३ लाख लक्ष्य पाएकोमा लक्ष्यभन्दा ३९.०१ प्रतिशत बढी अर्थात् १ अर्ब ९४ करोड ८४ लाख ९० हजार, भ्याटतर्फ १ अर्ब २१ करोेड ६७ लाख ६६ हजार लक्ष्य पाएकोमा ५३.७१ प्रतिशत बढी अर्थात् १ अर्ब ८७ करोड ३ लाख ३५ हजार असुली भएको छ।
त्यसैगरी अन्तःशुल्कतर्फ ६ अर्ब ३६ करोड ११ लाख ६७ हजार लक्ष्य पाएकोमा ५२.४५ प्रतिशत अर्थात् ३ अर्ब ३३ करोड ६५ लाख ८५ हजार, घरबहाल करतर्फ २ करोड ७३ लाख १३ हजार लक्ष्य पाएकोमा ९६.९८ प्रतिशत अर्थात् २ करोड ६४ लाख ८८ हजार, ब्याज करतर्फ ३ करोड ४४ लाख २७ हजार लक्ष्य पाएकोमा २६.२६ प्रतिशत बढि अर्थात् ४ करोड ३४ लाख ६६ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
गत आवको पछिल्लो ११ महीनामा कार्यालयले १० अर्ब १६ करोड ८६ लाख ९ हजार लक्ष्य पाएकोमा ५४.३२ प्रतिशत अर्थात् ५ अर्ब ५२ करोड ३१ लाख ९ हजार मात्र राजस्व सङ्कलन गरेको थियो। पोहोरभन्दा चालू आवको ११ महीनामा करीब १ अर्ब राजस्व लक्ष्य कम पाएको कार्यालयले पोहोरभन्दा १ अर्ब ६० करोड बढी राजस्व सङ्कलन गरेको छ।