प्रस, ठोरी, १८ असार/
निरन्तर वर्षाको कारण ठोरीको जनजीवन झनै प्रभावित हुँदैछ । ठोरीको खहरे खोलामा बाढी आएर दर्जनौं घर डुबानमा परेका छन् । हुलाकी सडक अग्लो र गाउँ होचो भएको कारण ब्रह्मनगर, निर्मलबस्ती, विजयबस्तीलगायतमा रहेका घरहरू डुबानमा परेका हुन् ।
यसैगरी, बाढीले खेत जलमग्न भएको छ र धानखेती प्रभावित हुने किसानहरूले बताएका छन् । वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत वडा नं ४ मा रहेको बिरे खोला र निर्मलबस्तीबीच रहेको पुलछेउको सडक भासिएको छ । यसअघि, वर्षाकै कारण पानीको बहाव बढेर पुलको दक्षिणतर्फको सडक भासिएको थियो र एकतर्फी सवारीसाधन सञ्चालन भएको थियो तर अहिले सडकको उत्तरतर्फको भाग भासिन थालेपछि स्थानीय चिन्तित छन् ।
पुलदेखि पचास मिटर पश्चिमतर्फ कल्भर्ट क्षेत्रको तारजालीलाई पनि पानीले क्षति पु-याएको छ । जाली भासिएर सडकछेउमा पुगेको छ भने सडकछेउको जमीन कटानमा पर्न थालेको छ । हुलाकी सडक निर्माण गर्दा पानीको बहावलाई ध्यान नदिएको कारण अहिले यो समस्या भोग्नुपरेको ठोरी गापा–४ निर्मलबस्तीका रामबहादुर पाख्रिनले बताए ।
उनले सडक किनारको तीन कट्ठा जग्गा पानीले कटान गरेको र अझै कटानको क्रम जारी रहेको बताए । बिरेखोलादेखि एक सय मिटर पश्चिम कल्भर्ट बनाउनुपर्नेमा हुलाकी सडक निर्माण गर्दा कल्भर्ट नराखिएको र सडक अग्लो बनाएर सोझै पुलतर्फ पानीको निकास बनाइएकोले त्यहाँ रहेका खेतीयोग्य जमीन बगरमा परिणत भएको पाख्रिनले बताए ।
बिरेखोला र निर्मलबस्तीबीचको सडकखण्डको किनारमा उनको चौबीस कट्ठा खेत अहिले डुबान र कटानमा परेको छ । यसैगरी, हुलाकी सडक किनारमा थुपारिएको गिट्टी, बालुवा बगेर खेत बगरमा परिणत भएको उनले बताए । ठोरी गापा–४ बाघमोर्चामा ओरिया खोलाको बाढीले खोलाकिनारको जमीन कटान शुरू भएको छ ।
निरन्तर वर्षाले ठाउँ–ठाउँमा सडक, खेतलाई क्षति पु-याएसँगै विद्युत्को पोल पनि ढालेकाले यो क्षेत्रमा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ । साँझ एकपटक मात्र विद्युत् आउने गरेको छ । मध्यरातदेखि विद्युत् अवरुद्ध हुने र साँझ मात्र आउने भएकोले अहिले यहाँको जनजीवन अस्तव्यस्त छ ।