काठमाडौं, १८ असार/रासस
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभागनजीक मनसुनी न्यूनचापीय रेखा रहेकाले शुक्रवार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा भएकाले विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । उक्त प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायत क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको थियो । राति पनि यही मौसमी प्रणाली कायम रह्यो ।
शनिवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।