जनताको जीवनरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता


प्रस, वीरगंज, १२ भदौ/
    मुख्यमन्त्री लालबाबूराउत गद्दीले जनताको जीवनरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।
    सर्लाहीको हरिवनमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जनताको जीवनरक्षाबाहेक अन्य कुरा सोच्ने बेला नरहेको बताए।
    कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारलाई चाल्नुपर्ने कदमबारे सरोकारवालाहरूसँग मुख्यमन्त्री गद्दीले सुझाव लिएका थिए। उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले रकमका साथै स्वास्थ्य उपकरण तथा सामग्रीहरू जिल्लाका प्रशासन र अस्पतालमा पठाए पनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गरे।
    उनले भने, “हामीले गर्न सक्ने र क्षमताले भ्याएसम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी राख्नेछैनौं।” जनअपेक्षाअनुरूप आठवटै जिल्लामा पिसिआर सञ्चालनका लागि प्रक्रिया शुरू भइसकेको भन्दै मुख्यमन्त्री गद्दीले भने, “रौतहटमा जडान प्रक्रिया शुरू भइसकेको छ। बाँकी जिल्लामा १५ दिनभित्र पिसिआर मेशिन सञ्चालनमा आउँछ।” कार्यक्रममा मुख्यमन्त्री गद्दीले जिल्लाहरूमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशन दिएका छन्।
    सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
    कार्यक्रममा सहभागीहरूले कोरोना महामारीको वर्तमान अवस्था र प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे धारणा राखेका थिए।
    कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा सुरेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, गौर, मलङ्गवा र हरिवनका नगरप्रमुखहरू, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू, गौर र मलङ्गवा अस्पतालका प्रमुखलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here