प्रस, ठोरी, १६ असार

अविरल वर्षाको कारण ठोरीका सयौं घर डुबानमा परेका छन्। यसैगरी, खहरे खोलामा आएको बाढीले हुलाकी सडकको किनारमा कटान गरी क्षति पु–याएको छ। अविरल वर्षाको कारण ठोरीका अधिकांश ठाउँ अहिले डुबानमा परेका छन्। हुलाकी सडकबाट उत्तरतर्फ रहेका घरहरू डुबानमा परेको स्थानीयले बताएका छन्। ठोरी गापा–३ ब्रह्मनगर नयाँ बस्तीका सयौं घर डुबानमा परेका छन्।

हुलाकी सडक बनेपछि सडक उचाइँमा भएको र बस्ती तल परेकाले वर्षामा डुबानमा परेको हो। सडकसँगै जोडिएको नालाबाट वर्षाको पानीको निकास हुन नसक्दा डुबानमा परेको ठोरी गापा–३ का अध्यक्ष सूर्यबहादुर लामाले बताए। सो क्षेत्रका घरहरू डुबानमा परेपछि मानिसहरू रातभरि सुत्न सकेका छैनन्।

घर जलमग्न भएका कारण अहिले यहाँको अवस्था कहालीलाग्दो छ। वर्षाको कारण बुद्धनगर र रामनगरमा खानेपानीको समस्या भएको छ। बाढीले खानेपानी मुहानको पाइप बगाएपछि पानीको समस्या भएको स्थानीय सुजन ढुङ्गेलले बताए। उनले खानेपानीको पाइपलाइन बगाएको र वैकल्पिक व्यवस्था नहुँदा गत वर्षको पीडा यस वर्ष पनि आइपरेको गुनासो गरे। ठोरी गापा–४ निर्मलबस्ती, आठघरे, मिलचोक, शान्तिटोल, सुन्दरटोल, विजयबस्ती, विशालचोक, ट्याङ्ग्रेलाइनलगायतका घरहरू पनि डुबानमा परेका छन्।

सो ठाउँको पीडा पनि उस्तै छ। हुलाकी सडक बनेपछि बस्ती होचो भएको र वर्षाको पानीले डुबानमा परेको स्थानीयले बताएका छन्। डुबानले केही कच्ची घर भत्किएका छन् भने पक्की घरलाई पनि क्षति पुगेको छ। ठोरी गापा–४ मिलचोकका वीरबहादुर तामाङले मध्यरातबाट घर डुबानमा परेको बताए। ठोरीका धेरैजसो ठाउँका घरहरू डुबानमा परेको र मानिसहरू बिचल्लीमा छन्।

इप्रका ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले डुबान क्षेत्रमा सुरक्षाकर्मीले सहयोग पु–याइरहेको बताए। उनले डुबानग्रस्त क्षेत्रमा मानवीय क्षति नहोस् भनेर सुरक्षाकर्मी खट्दै आएको र अहिलेसम्म मानवीय क्षतिको घटना नभएको बताए।

हुलाकी सडकमा क्षति लगातारको वर्षाले ओरिया खोलामा बाढी आएपछि वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने गोपी बस्तीनजीकको सडकखण्ड क्षतिग्रस्त भएको छ। बाढीले हुलाकी सडक जोगाउन गरिएको तटबन्ध भत्काएकोले सडकमा क्षति भएको हो। निरन्तर वर्षा भइरहेको र नरोकिएको खण्डमा नयाँ बनेको हुलाकी सडकलाई थप क्षति हुने आशङ्का गरिएको छ।

ओरिया खोलाको बाढीले वडा नं १, २, ३, ४ लाई बढी क्षति पु–याएको छ र अहिले त्यहाँ सडक सम्पर्क विच्छेद भएको मालीबस्तीका किरण पाण्डेले बताए। ठोरी–३ मा पर्ने ओडार खोलामा रहेको पुलछेउको सडकलाई पनि बाढीले क्षति पु–याएको छ। सो सडकखण्ड भासिएको छ र वर्षा नरोकिएको खण्डमा पुल भएर सवारीसाधन ओहोरदोहोर गर्न नसक्ने बुद्धनगरका सुजन ढुङ्गेलले बताए। 

यसैगरी, पर्साको धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गापाको मधुवाहा, झाखरा मसियानी, मसियानी, छिपहरमाईको भिस्वा, जयमङ्गलापुर, झलमहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुढगाई, भलुवहियालगायतका गाउँ डुबानमा परेका छन्।

प्रदेश २ सरकारले निर्माण गरिरहेको लङ्गडी–मिर्जापुर तथा सबैठवा–भिस्वा हुँदै मिर्जापुर जोड्ने रिङरोडका अधिकांश भाग कटान भएको छ। उक्त सडक कालोपत्रे हुने तयारीमा थियो। बाढीले ग्रामीण भेगको विद्युत् सेवा तथा धानबाली लगाउन पनि समस्या थपेको छ। डुबानले धानको बेर्नामा हिलो जम्दा तथा रोपाइँ भएका खेतहरू जलमग्न भएका छन्। वीरगंज महानगरको वडा नं २८ देखि ३२ वडा पनि डुबानमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here