नयाँ दिल्ली, १६ असाररएएनआई

भारतमा कोरोना भाइरसबाट थप ४६ हजार मानिस सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बुधवार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

अघिल्लो दिन ३७ हजार ५६६ जना नयाँ सङ्क्रमित थपिएको विवरण सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो । मङ्गलवार सार्वजनिक गरिएको तथ्याङ्कमा १०२ दिनपछिकै सबैभन्दा कम सङ्क्रमित भएको देखिएको थियो। भारतमा लामो समयदेखि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिंदै आएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ७२९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या पनि कम हुँदै गएको छ। अहिले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या पाँच लाख ३७ हजार ६४ रहेको छ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। भारतमा अहिलेसम्म कुल तीन करोड तीन लाख ६२ हजार ८४८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये दुई करोड ९४ लाख २७ हजार ३३० जना सङ्क्रमणमुक्त भइसकेका छन्।

त्यसैगरी, भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here