दमौली, १५ असार/रासस

कोरोना कहरका कारण थला परेको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–७ राङरूङमा रूखमा चढ्ने (ट्रि क्लाइम्बिङ) सहासिक खेल शुरू भएको छ। राङरूङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडा कार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रूखमा चढ्ने खेल सञ्चालन गरेको हो।

डोरीको सहायताले रूख चढ्ने, रूखका विभिन्न स्थानमा डोरीमा झुन्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए। “नयाँ गन्तव्यको खोजी अभियान अन्तर्गत रूख चढ्ने खेल सञ्चालन गरेका हौं, यसले पर्यटकलाई आकर्षित गर्न सक्नेमा ढुक्क छौं,” श्रेष्ठले भने। उनका अनुसार पछिल्लो समय साहसिक खेलतर्फ पर्यटकको आकर्षण बढ्दै गएकाले रूख चढ्ने खेल पर्यटकको रोजाइमा पर्नेछ।

यहाँ निर्माण गरिएको रूखमा एकपटकमा पाँचजनासम्म चढ्न मिल्ने बनाइएको छ। “पाँचवटा डोरी राखिएको छ, एकैपटक पाँचजना चढ्न मिल्छ, अहिले तत्कालका लागि ३० मिटरसम्म झुन्डिएर माथि जान सकिन्छ,” वडाध्यक्ष श्रेष्ठले भने।
कोठाभित्र यस प्रकारको खेल सञ्चालन भएको भए तापनि बाहिर भने नेपालमैं पहिलो हुन सक्ने उनको दाबी छ। “यो वर्ष रकम अभाव भएकाले सबै काम गर्न सकेनौं, आगामी वर्ष बजेट थप गरेर यसलाई व्यवस्थित बनाउँछौं,” उनले भने, “यसलाई प्रतियोगितात्मकरूपमा अगाडि बढाउने सोच छ।” वडाले यसका लागि चालू आर्थिक वर्षमा रु दुर्ई लाख ५० हजार बजेट विनियोजन गरेको थियो।

विभिन्न रमणीय स्थानको अवलोकन तथा हिमालको सुन्दर दृश्यावलोकनका लागि पीपलडाँडामा निर्मित दृश्यावलोकन केन्द्र, पीपलडाँडामैं रहेको पार्क तथा स्थानीय मौलिक नेवारी परिकार पर्यटकको हटियामा रहेको झिड्डु राङरूङ नेवाः होमस्टे, राङरूङ रिसोर्टका अतिरिक्त स्थानीय मौलिक कला र संस्कृति यहाँका प्रमुख आकर्षण हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here