प्रस, वीरगंज, १५ असार/
पर्सा जिल्लामा १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७८ विभिन्न पालिकामा कार्यक्रमको आयोजना गरी मनाइएको छ । कृषि ज्ञान केन्द्र, पर्साको आयोजनामा बहुदरमाई नगरपालिका–५ विश्रामपुरमा धान रोपेर दिवस मनाइएको छ ।
सो अवसरमा ज्ञान केन्द्रका बालीविज्ञ सुरेश चौरसियाले पर्सा जिल्लामा असार १५ गतेसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको बताए । उनले गत वर्ष ४६ हजार ६ सय हेक्टरमा धानखेती भएकोले यस वर्ष २५ प्रतिशतले धान उत्पादन बढ्ने दाबी गरे ।
यसैगरी, पर्सागढी नगरपालिकामा उपप्रमुख अर्चना चौधरीले धान रोपेर दिवस मनाइन् भने वीरगंज महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा वडा नं ३१ कोनियामा धान दिवस मनाइएको छ । सो अवसरमा कोनियामा जात्रा निकालेर दिवस मनाइयो ।
‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ नगरप्रमुख विजयकुमार सरावगीले धान रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले कृषकहरूको समस्यालाई महानगरपालिकाले गम्भीरतापूर्वक लिंदै आएको बताए । उनले सो वडालाई चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए ।
वडाध्यक्ष चुमनदास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल यादव, सरसफाइ शाखाका सर्फुद्दीन मियाँ, प्रशासन शाखाका विकासकुमार मिश्र, लेखा अधिकृत रूपनारायण राउत, आइटी अफिसर सतीश चौधरीलगायतको सहभागिता रहेको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताइन् ।
सखुवाप्रसौनीमा पनि धान दिवस मनाइएको छ । गापा अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा महुवनमा दिवसको अवसरमा धान रोपाइँ गरिएको थियो ।