वाशिङ्टन,१५ असार/सिन्ह्वा
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमवार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । उनीहरूबीच अमेरिका र इजरायलबीच द्विपक्षीय हितका साथै अन्य कूटनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिका भ्रमणमा छन् । सो भेटका क्रममा उनीहरूबीच इरानका विषयमा पनि कुरा भएको थियो । इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए ।
त्यस भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिएका थिए । उनले यस क्षेत्रमा इजरायलको अरू देशहरूसँग सम्बन्ध सामान्य बनाउने विषयमा पनि कुरा गरेका थिए । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताएका थिए ।
उनको आगामी महीना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । इजरायलमा राष्ट्रपतिको पद आलङ्कारिक रहन्छ । त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र छ । रासस