सङ्क्रमित वडाध्यक्ष घरमैं पञ्चायती गर्छन्

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, ११ भदौ/
पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मणसाह कानू कोरोना सङ्क्रमित भए पनि गाउँटोलको पञ्चायती गर्दैछन्।
वडाध्यक्ष कानू यस अवस्थामा पनि पञ्चायती नगरी धरै नपाएको बताउँछन्। सङ्क्रमित भई घरमा आइसोलेट भएर बसेको अवस्थामा टोलवासी समस्या लिएर आउने र त्यसको समाधान गर्नुपर्ने बाध्यता भएको उनले बताए। घरमा आउनेलाई सङ्क्रमित छु भन्दा पनि पत्याउँदैनन् र समस्या समाधान गर्न दबाब दिन्छन्।
सामाजिक दूरी कायम गरेर बाध्यतावश पञ्चायती गर्दै आएको उनले बताए। प्रत्येक दिन कुनै न कुनै समस्या लिएर मानिसहरू आउने र आइसेलेट भएकोले कसैसँग सम्पर्कमा आउन नमिल्ने भन्दा मान्दैनन्, उनी बताउँछन्। वडावासीले कोरोनाको गम्भीरता नबुझेको वडाध्यक्ष कानूले बताए।
वडा नं. ४ को वडाध्यक्षको यो अवस्था छ भने वडा नं. ५ मा सङ्क्रमितहरू खुलेआम घुमिरहेका छन्। घरमा आइसोलेट भएका सङ्क्रमितहरू टोलमा घुमिरहेको स्थानीयले गुनासो गरेका छन्। पोखरियामा ६१ जना सङ्क्रमित छन्। त्यसमध्ये २५ जना घरमा आइसोलेट छन्।

पोखरिया नगरपालिका–४ का वडा सदस्य शम्भुसाह कानू सङ्क्रमित भएपछि परिवारको कन्ट्याक्ट ट्रेसिङमा स्वाब सङ्कलन नगरिएकोमा दुःखी छन्।
पोखरियामा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको भदौ १० गते स्वाब सङ्कलन गरिएको समाचार प्रतीकमा पढेको बताए तर आफू र परिवारलाई सोबारे जानकारी नगराइएको र स्वाब पनि नलिइएको बताए। वडा सदस्य कानूले आफ्नो पिसिआर रिपोर्ट बिहीवार नेगेटिभ आएपछि झनै समस्यामा परेको बताएका छन्। २२ जनाको परिवार छ, आफू सङ्क्रमित भएपछि अस्पतालको आइसोलेशनमा बस्दै आएको र नेगेटिभ आएपछि कसरी घर जाने भन्ने समस्याले ग्रसित भएको बताए।
उनले आफ्नो रिपोर्ट नेगेटिभ आएको तर परिवारका सदस्यहरूको स्वाब नमूना सङ्कलन नगरिएको कारण घर जाँदा जोखिम हुने खतरा बढेको बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस