काठमाडौं, १४ असार/रासस
जल तथा मौसम विज्ञान विभागले बुधवारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधवारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलिअलि मात्र सक्रिय मनसुन बुधवार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भूभागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए । उनका अनुसार अब सक्रिय हुने मनसूनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ ।
यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यही अनुरूप पूर्व तयारी गर्न पनि विभागले आग्रह गरेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ ।