दुबई, १३ असार/एएफपी

यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरूमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाई शुरू गरेपछि भएका यी भिडन्तमा दुवैतर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ ।

हुथी विद्रोहीहरूले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन् । यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एकमात्र स्थान हो । बिहीवार र आइतवार भएका भीषण लडाइँमा सरकार समर्थित २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ । तर विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन ।

यमनका सरकारी अधिकारीको भनाइमा बिहीवारदेखि हुथी विद्रोहीले उत्तर, दक्षिण र पश्चिमतर्फबाट मरिबमा भीषण आक्रमण गरिरहेका छन् । तर लडाकूहरू मरिबको भित्री तहमा प्रवेश गर्न पाएका छैनन् । मरिबलाई विद्रोहीको कब्जामा पुग्न नदिन सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ । एकजना सरकारी सैन्य अधिकारीले मरिब क्षेत्रमा दुवैतर्फबाट भीषण हमला भइरहेको र साउदी गठबन्धनका सेनाले हवाई आक्रमण गरिरहेको जानकारी दिए ।

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हात माथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय सङ्घसंस्थाहरूले बताएका छन् ।

यमनका अन्य क्षेत्रमा जारी भिडन्तबाट बच्न धेरै मानिस मरिबमा बस्दै आएका छन् । यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमनका मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेको छ । संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरूले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन् ।

यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ । मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरूले साउदी अरेबियाका कैयौं स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन् । यसै महीना यमनका लागि राष्ट्रसङ्घीय विशेषदूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताए ।

यमन गृहयुद्धमा दशौं हजार मानिसको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनुपरेको छ । राष्ट्रसङ्घले यस युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ । युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here