राधेश्याम पटेल, परवानीपुर, १२ असार/
शनिवार बिहान १ बजेदेखि परेको भारी वर्षाले पर्सा, बाराका ग्रामीण भेग जलमग्न भएका छन्। शनिवार बिहान १ देखि ११ बजेसम्म परेको अविरल वर्षाले मध्यतराईका जिल्लाहरू पर्सा र बाराका सरेह (खेत) पूरै जलमग्न भएका छन्। वर्षा छुटेपछि बिस्तारै उत्तरतर्फबाट पानीको बहाव दक्षिणतर्फ बगेर अहिले डुबान केही कम भएको छ।
पर्साका श्रीसिया, भेड हा, तिलावे, गादी, सिङ्याही, सिकटा, ओरिया खोलाछेउका गाउँबस्तीहरू बढीजसो जलमग्न भएको सशस्त्र प्रहरी पर्साले जनाएको छ। सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाका अनुसार करीब १० घण्टाको लगातारको बर्खाले पर्साका अधिकांश पालिकामा डुबानको जोखिम देखिएको बताए। उनले पकहामैनपुर गाउँपालिकाको धोरेस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा पानी पसेर पोस्ट खाली गराइएको बताए।
त्यसैगरी, पर्सामा बाढीले धेरै प्रभावित पार्ने छिपहरमाईगाउँपालिकाको भिस्वा, जयमङ्गलापुर, झलमहिया, सम्भौता, चरगाहा, बघमरी, मिर्जापुर, भलुवहिया, धोबिनी, विन्ध्यवासिनी गापाको गर्दौल, बहुदरमाईको रामनगरीलगायत गाउँबस्ती आसपासमा बाढीको बढी जोखिम देखिएको थियो।
“यदि केही घण्टा अझै पानी परेको भए, बस्तीमैं पानी पस्ने अवस्था थियो,” उनले भने, “तर पानी रोकिएर सबै ठाउँमा पानीको सतह कम हुँदै गएको छ, खोलामा आएको बाढी बस्तीमा जाने अवस्था छैन।” उनले पर्साका विभिन्न खोलाछेउका बासिन्दालाई वर्षात्को समयमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, सशस्त्र प्रहरीका सबै युनिटलाई पनि हाई अलर्टमा बस्न निर्देशन दिएको बताए।
बाराको दुधौरा, लालबकैया, पसाहालगायत खोलामा पनि वर्षात्मा पानीको सतह बढेको पाइएको छ। साथै, साना खोला तथा खोल्सीहरूमा पनि पानीको सतह बढेर आसपासका बस्तीमा डुबान पर्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन अपील गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बारामा अहिले बाढीले बस्ती डुबानमा पर्ने अवस्था नआए पनि सुरक्षा निकाय र स्थानीय पालिकाको समन्वयमा विपद्को समयमा सँगै काम गर्ने पूर्वतयारी भइसकेको बताए।
गर्दौलको लचकामा खतरा
प्रस, पोखरिया/
वीरगंज–पोखरिया सडकखण्डमा पर्ने गर्दौलस्थित लचका भएर आउजाउ गर्न समस्या भएको छ।
शनिवार परेको भारी वर्षाको कारण सो क्षेत्रका खेत, सरेह जलमग्न भएपछि लचका भएर बग्ने पानीको सतह बढेपछि आउजाउमा समस्या भएको हो।
वीरगंज पर्साको पूर्वी क्षेत्रमा अवस्थित छ। सदरमुकाम वीरगंज पुग्न उक्त सडक महत्वपूर्ण छ। तर वर्षात्को बेला गर्दौलको लचकामा पानी बहाव बढ्दा पैदल र साइकल यात्रा गा–हो हुन्छ भने मोटरसाइकल तथा अन्य सवारीसाधनबाट यात्रा गर्दा बिग्रने गर्छन्। सोही कारणले पश्चिमी भेगका बासिन्दालाई वीरगंज आउन निकै कठिनाइ हुने गर्छ। सो क्षेत्रका बासिन्दाले वर्षात्को बेला सो सडकको विकल्प खोज्न स्थानीय पालिकाले जोड दिनुपर्ने बताए।