नयाँ दिल्ली, ११ असार/एएनआई
भारतमा कोरोना भाइरसबाट थप ५१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रवार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ । त्यसैले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन घट्दै गएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको कुल सङ्ख्या दुर्ई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३२९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या तीन लाख ९३ हजार ३१० पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेकाहरूको कुल सङ्ख्या छ लाख १२ हजार ६ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो एक दिनमा १७ लाख ३५ हजार ७८१ जनाको स्वाब परीक्षण गरिएको परिषद्को तथ्याङ्क छ । एकै दिनमा ठूलो सङ्ख्यामा कोरोना भाइरसविरुद्धको खोप लगाउने मुलुकसमेत रहेको भारतमा बिहीवार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ ।
भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।