प्रस, ठोरी, १० असार/

ठोरी गाउँपालिकामा डेङ्गुलगायतका कीटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बिहीवार गापा कार्यालय घ्याङडाँडामा सम्पन्न कार्यक्रममा डेङ्गु रोगको मुख्य कारक लामखुट्टेको वासस्थानको खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले डेङ्गु एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकोले घरवरिपरि पानी जम्ने खाल्डो नराख्न सुझाव दिए। उनले वर्षाको पानी जम्ने थोत्रो टायर, गमला, रड्ढो डिब्बा, कुलर, खाली ड्रम, टीनका डिब्बामा डेङ्गु रोग सार्ने पोथी लामखुट्टेले फुल पार्ने गरेको बताए। यस्ता ठाउँको खोजी गरी लार्भा नष्ट गर्नुपर्ने उनले बताए।

गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले ठोरी जङ्गल किनारसँग जोडिएकोले डेङ्गु, औंलो, कालाजारलगायतका रोगहरूको जोखिम रहेको बताए। उनले स्वास्थ्य चौकीमा मलेरिया परीक्षण गराएका बिरामीहरूमा हालसम्म मलेरिया नदेखिएको जानकारी दिए। उनले डेङ्गु रोग नियन्त्रण अभियानमा सहयोग गर्ने बताए।

कार्यक्रममा गापा अध्यक्ष पद्मलाल श्रेष्ठ, उपाध्यक्ष शान्तिमाया थिङ, योजना शाखाका अधिकृत अर्जुनकुमार जिसीलगायतले मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here