नयाँ दिल्ली, १० असार/सिन्ह्वा

भारतमा हाल जारी रहेको कोभिड–१९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ। पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ। यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरूले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घण्टी थिच्न थालेका छन्।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरूलाई केही खुकुलो बनाएको छ। यसरी खुकुलो बनाएपछि नागरिकहरू सडकमा निस्किन थालेका छन्। उनीहरूले सामाजिक दूरी कायम गर्ने तथा अरू जनस्वास्थ्यका आधारभूत मापदण्डहरू पनि पालना गर्न छाडेका छन्। जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरूले सरकारलाई सचेत बनाएका छन्।

बुधवार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन्। गएको २४ घण्टामा त्यहाँ बुधवार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो। योसमेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित पुगेका छन्। यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन्।
त्यस्तै, यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झन्डै चार लाखको नजीक पुग्दैछ। भारतमा कोरोना भाइरसका सङ्क्रमितहरूमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ।

यहाँ केही समयअघिसम्म हरेक दिन २ हजारभन्दा पनि बढी सङ्क्रमितको ज्यान जाने गरेको थियो। तर अहिले सो अवस्थामा पनि कमी आएको छ। यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ। पछिल्लो समयमा निको हुने दरमा पनि वृद्धि भएको छ। भारतमा पछिल्ला हप्ताहरूमा सङ्क्रमितहरूको निको हुने दरमा वृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ।

यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरूलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सङ्क्रमित नै निको भएको अवस्था भने नभएको विज्ञहरूले चेतावनी दिएका छन्। उनीहरूले भनेका छन् कि यसरी पछिल्ला दिनहरूमा सङ्क्रमितहरू घट्दै जाँदा अब सबै ठीक भयो भनेर सरकारले प्रतिबन्धहरू सबै फुकुवा गर्ने र नागरिकहरूले पनि जनस्वास्थ्यका मापदण्डहरू पालना नै नगर्नु भने मूर्खता हुनेछ, यसले अर्काे सङ्कटलाई निम्ता दिन सक्छ।

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कतिजना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुप–यो, चिकित्सकहरूले पनि कसरी आफैंले र बिरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ। अक्सिजन मात्र होइन कि आवश्यक औषधिहरू, अस्पतालका शøया तथा अरू आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरूलाई पनि थाहा नै छ।

यो अवस्था आफूहरूले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरूले गरेका अनुरोधहरूलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरूले बेवास्ता गरेको बताएका छन्। स्वास्थ्य विज्ञहरूले यस्तो चेतावनी दिंदादिंदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरू जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पु–याएको र अहिले पनि अब केही समयमैं सरकारले यस्ता क्रियाकलापलाई अनुमति दिन सक्ने भन्दै त्यसको विरोध गरिरहेका छन्।

सतर्कताका लागि आग्रह
यता सङ्क्रमित घटेका समाचारहरू आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरू प्रतिबन्ध हटाउने काममा उदार भएका छन्। जसका कारण यहाँका रेलमार्ग, होटल, रेस्टुरेन्ट, शपिङ मलहरू आदिमा ठूलो भीडभाड लाग्न थालेको छ। नयाँ दिल्लीको रेल्वे स्टेशनमा पनि हालैका दिनमा हजारौंजनाको भीडभाड नै देखिन थालेको छ। शपिङ मलहरूको अवस्था त्यस्तै छ। यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरूले अर्को लहरको सम्भावना झन् नजिकिंदै गरेको भनेर चेतावनी दिएका छन्।

दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भीडभाडपछि जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ। सो अदालतले जनस्वास्थ्य विज्ञहरूले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरू पालना गराउनु नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो।

यदि यी मापदण्डहरू पालना गराउन सकिएन भने मानिसहरूकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौं पनि भनेको छ।
अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ। जसका कारण ठूलो जनसङ्ख्या रहेको भारतका नागरिकको उपस्थिति दिन प्रतिदिन बढ्दै गएको छ। यो देखेर यहाँका चिकित्सकहरूले त भारतले दोस्रोभन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन्। उनीहरूले मानिसहरूको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन्।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस)का निर्देशक रणदीप गुलरियाले गत हप्ता भनेका थिए– भारतमा कोभिड–१९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्योभन्दा पनि बढी हुन सक्छ।

उनले गत हप्ता मात्र भनेका थिए– तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्योभन्दा थोरै ढिला हुन पनि सक्छ। तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरूको पालनाले पनि निर्धारण गर्नेछ।

उनले भनेका थिए– हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौं भन्ने कुरा सबैले बुझ्नुपर्ने हो। हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो। तर पछिल्ला दिनहरूमा बढ्दो भीडभाड र सरकारले एकपछि अर्काे गरी प्रतिबन्धहरू फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौं जस्तो लाग्दैन। मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरले हामीलाई अझ बढी क्षति दिन सक्छ भन्ने डर मलाई लागिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय अधिकारी प्रकाश नारायणको धारणा पनि त्यस्तै छ। उनले सङ्क्रमितहरूको सङ्ख्या केही घटेका समाचारहरू आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागरिकहरू पनि हजारौंका सङ्ख्यामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमैं सतर्कता अपनाउन आग्रह गरे।

सुस्त खोप अभियान

हुनत भारतको जनसङ्ख्या पनि यहाँको कोरोनाविरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो। भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिङ ट्याङ्क संस्था नेशनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ इन्डियाका सदस्य भिके पाउलले कोरोनाविरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउँछन्। साथै कोरोनाको खोप दिएपछि यसका सङ्क्रमितहरूमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नुनपर्ने देखिएको पनि उनले बताए।

भारतमा यसै वर्षको जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो। तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्राको खोप दिइएको छ। खोपको दुवै मात्रा लिने यो सङ्ख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ। यो भारतको स्वास्थ्य मन्त्रालयकै तथ्याङ्क हो। सो मन्त्रालयले जनाए अनुसार देशव्यापीरूपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ।

उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ। तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरूले त्यो सम्भव देखेका छैनन्। उनीहरूका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here