प्रस, वीरगंज, १० असार/

वीरगंज महानगरपालिकाले आव २०७८/७९ को लागि रु ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ। वीरगंज महानगरको ९औं नगर अधिवेशनमा उपप्रमुख शान्ति कार्कीले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

विनियोजित बजेटमा चालूतर्फ रु १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय अर्थात् ५२.४४ प्रतिशत, पूँजीगततर्फ रु १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय अर्थात् ४५.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६ करोड ७० लाख ६४ हजार अर्थात् १.८८ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख विजयकुमार सरावगीले कोरोनाले व्यापार–व्यवसायमा प्रतिकूल असर पारेको र ठूलो आर्थिक क्षति भएकोले त्यसलाई ध्यानमा राखी राहतसहितको राजस्व नीतिहरू लिएको बताए। उनले होटल, पर्यटन व्यवसाय, विद्यालय, अस्पताल, शपिङ मल, उद्योग र कलकारखानाको चालू आवको सम्पत्ति करमा ५० प्रतिशतसम्म छुट दिने र आगामी आर्थिक वर्ष २०७८/७९ मा पनि सम्पत्ति कर असुली प्रक्रियालाई निरन्तरता दिइने बताए।

उद्घाटन सत्रमा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मालाई वरिष्ठ पत्रकार सम्मानबाट विभूषित गरिएको थियो। नगरप्रमुख सरावगीले उक्त सम्मान प्रदान गरेका थिए। नगरप्रमुख सरावगीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने ठोरी गाउँपालिकाका हरेराम खड्कालाई पनि सम्मानित गरेका थिए।

यसैगरी, रेडियो वीरगंजका ध्रुव साह, अनलाइन खबरका सुरेश बिडारी, नेपाल टेलिभिजनका वीरगंज संवाददाता विजय महतो, मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खड्कालाई पनि सम्मानित गरिएको थियो। यस्तै, रोट्राक्ट क्लब वीरगंजलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

नगरसभामा कोभिडमा खट्ने नगरप्रहरी इन्चार्ज हरि भुसालसहित पाँचजना नगरप्रहरीलाई सम्मानित गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here