प्रस, ठोरी, ९ असार/

वैदेशिक रोजगारमा रहेकाहरूको परिवारजनका लागि ठोरी गाउँपालिकामा लागू भएको सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रमको अवस्था र प्रभावबारे छलफल भएको छ । जिल्ला समन्वय समिति पर्साका पदाधिकारीहरू सम्मिलित टोलीले बुधवार कार्यक्रम स्थलमा पुगेर अनुगमन साथै छलफल गरेको हो ।

सामी परियोजना अन्तर्गत वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका परिवारजनका लागि वित्तीय साक्षरता र मनोसामाजिक परामर्शलगायतका कार्यक्रमहरू सञ्चालनमा छन् । स्वीस सरकारको सहयोग तथा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरेको हो ।

अनुगमन टोलीका सहभागीहरूले वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको स्थलगत अवलोकनका साथै कार्यक्रममा आबद्ध महिला सदस्यहरूसँग अन्तक्रिया तथा छलफल गरेका जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

अन्तत्र्रिmयामा सहभागी महिलाहरूले वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरेका थिए । सुरक्षित वैदेशिक रोजगारका विविध पक्षका साथै वैदेशिक रोजगारबाट आर्जन गरेको रकमको सदुपयोग एवं बचत र आयमूलक व्यवसाय सञ्चालन सम्बन्धमा कार्यक्रमले पथप्रदर्शकको भूमिका निर्वाह गरेको महिला सहभागीहरूले बताए ।

टोलीमा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहम्मद अन्सारी, उपप्रमुख ठाकुरप्रसाद न्यौपाने, ठोरी गापा अध्यक्ष पद्मलाल श्रेष्ठ, हेल्भेटासका कार्यक्रम अधिकृत शिवचरण रौनियार, वीरगंज महानगरको आर्थिक प्रशासन शाखा प्रमुख रामदयाल यादवलगायतको सहभागिता थियो ।

सामी परियोजनाले वैदेशिक रोजगारमा जान चाहने युवालाई पनि सचेत बनाउने र मनोसामाजिक परामर्श दिने गरेको छ । पर्सामा ठोरी गापा, सखुवाप्रसौनी गापा, पर्सागढी नपा र वीरगंज महानगरपालिकामा सामी परियोजना चालू आवदेखि लागू छ । परियोजना सञ्चालन गर्न आव २०७८/७९ का लागि ठोरी, सखुवाप्रसौनी र पर्सागढीका लागि २०/२० लाख रुपैयाँ साथै वीरगंज महानगरपालिकाका लागि ६२ लाख रुपैयाँ बजेट दातृ निकायले उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here