प्रस, वीरगंज, ९ असार/
धोबिनी गाउँपालिकाको जानकीटोलावासीले तीनजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा राखेकोमा सशस्त्र र नेपाल प्रहरीले उनीहरूलाई मुक्त गराएको छ ।
भारतीय युवक जर्पmुद्दीन अन्सारीले ओरिया खोला हुँदै एउटा खसी आफन्तकहाँ ल्याउने क्रममा सो ठाउँमा खटेका सशस्त्र प्रहरीले कुटपिट गरी घाइते बनाएको आक्रोशमा स्थानीयले सशस्त्र प्रहरी भिखमपुर बेस क्याम्पमा कार्यरत तीनजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिएका थिए ।
आज बिहान ११ बजे २६ वर्षीय भारतीय युवक अन्सारीले खसी ल्याउने क्रममा उनलाई निर्घात कुटपिट गरिएको थियो । स्थानीय भिखमपुर स्वास्थ्य चौकीमा निजको उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगंज ल्याइएको छ ।
तीनजना सशस्त्र प्रहरी घाइते युवकलाई उपचार गराउन पुगेका बखत आक्रोशित गाउँलेले औषधिपसलमा उनीहरूलाई नियन्त्रणमा लिएर राखेका थिए ।
पछि सशस्त्र र नेपाल प्रहरीको थप टोली जानकीटोला पुगेर तीनजना सशस्त्र प्रहरीलाई गाउँलेको नियन्त्रणबाट छुटाएका थिए । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले निषेधाज्ञा रहेकोले वीरगंज–रक्सौल नाकाबाहेक अन्य नाका बन्द भएको अवस्थामा भारतबाट खसी ल्याउने क्रममा सशस्त्र प्रहरीले रोक्दा युवकले विवाद गर्दा सो घटना भएको बताए ।
उनले तीनजना सशस्त्र प्रहरीलाई गाउँलेले नियन्त्रणमा लिएको कुरा आफूलाई थाहा नभएको बताए । घटनापछि तनाव भएको र सो नियन्त्रणको लागि थप प्रहरी पठाइएको उनले बताए ।