बेइजिङ, ९ असार/सिन्ह्वा
चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चारवटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।
यी खोपहरूलाई चीनभित्र शर्तसहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।
चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिएका कम्पनीहरूमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुर्ई किसिमका खोपले विश्व स्वास्थ्य सङ्गठनबाट यसअघि नै आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।
यी खोपहरू चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताइन् ।
उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरूले पनि ध्यान दिने विश्वास व्यक्त गरिन् ।
चिनियाँ अधिकारीहरूले कोभ्याक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मदत गर्ने पनि बताएका छन् ।
चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरीद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ । रासस