प्रस, वीरगंज, ८ असार/
जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा २०७३/७४ मा सञ्चालित कार्यक्रम पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । प्रदेश २ सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय, जनता आवास कार्यक्रम कार्यान्वयन एकाइ वीरगंजका निमित्त प्रमुख राजेन्द्र साहले आव २०७३/७४ मा ९९० वटा घर निर्माण शुरू भएकोमा ७५२ वटा मात्र घर निर्माण भई हस्तान्तरण भएको र २४८ वटा घर हस्तान्तरण हुन बाँकी रहेको बताए ।

उनले तत्कालीन पर्साका पाँचवटा निर्वाचन क्षेत्रमा ९९० वटा घर निर्माणको काम शुरू गरिएको र सोको लागि रु २१ करोड ४७ लाख बजेट आएकोमा अहिलेसम्म रु २० करोड ३० लाख ६३ हजार २६० खर्च भएको र रु १ करोड १६ लाख ३६ हजार ७४० भुक्तानी हुन बाँकी रहेको जानकारी गराए ।

उनले पहिलो चरणको जनता आवास कार्यक्रम अन्तर्गत चार किस्तामा भुक्तानी भएकोमा जग खन्नको लागि २५ प्रतिशत, डिपिसी कार्य गर्न ३० प्रतिशत, गारो लाउन ३५ प्रतिशत र चौथो किस्ताबापत छाना, झ्याल, ढोका र शौचालय सम्पन्न गर्न १० प्रतिशत रकम विनियोजित भएको बताए ।

उनले तत्कालीन पर्साको क्षेत्र नं १ मा १९७ वटा घर निर्माणको लागि पहिलो किस्ताबापतको रकम बुझ्ने काम भएकोमा दोस्रो र तेस्रो किस्ता १९१ जनाले मात्र उठाएको र चौथो किस्ता १८६ जनाले मात्र लिएको बताए । यसैगरी, क्षेत्र नं २ मा २ सय घरले पहिलो किस्ता, १९८ घरले दोस्रो किस्ता, १९७ घरले तेस्रो र १६२ जनाले चौथो किस्ता लिएको बताए । क्षेत्र नं ३ मा १९७ घरले पहिलो किस्ता, १८७ घरले दोस्रो किस्ता, १८० घरले तेस्रो किस्ता र १५५ घरले मात्र चौथो किस्ता लिएको निमित्त प्रमुख साहले जानकारी गराए ।

क्षेत्र नं ४ मा १९७ जनाले पहिलो, दोस्रो र तेस्रो किस्ता लिए पनि १५१ जनाले मात्र चौथो किस्ता उठाएको उनले बताए । क्षेत्र नं ५ मा १९९ घरले पहिलो किस्ता, १९८ घरले दोस्रो किस्ता, १८३ घरले तेस्रो र ९८ घरले मात्र चौथो किस्ता उठाएको उनले बताए ।

पहिलो चरणको जनता आवास कार्यक्रम सम्पन्न हुन बाँकी रहेको र दोस्रो चरणको आव २०७५/७६ मा २ सय घर निर्माण भइरहेकोमा अहिलेसम्म १४८ वटा घर मात्र पूर्णरूपमा तयार भएर हस्तान्तरण भएको छ ।दोस्रो चरणको जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाका जीराभवानी, कालिकामाई, सखुवाप्रसौनी, पकाहामैनपुर गाउँपालिका, वीरगंज महानगर, बहुदरमाई, पर्सागढी नगरपालिका गरी १२ स्थानमा घर निर्माण भइरहेको उनले बताए ।

२ सय घर निर्माणको लागि रु ४ करोड ३४ लाख ७८ हजार बजेट सङ्घ सरकारबाट प्राप्त भएकोमा पहिलो किस्तामा १ करोड ४ लाख ६३ हजार १५७ रुपैयाँ घर निर्माणको लागि भुक्तानी भएको र दोस्रो किस्ताबापत १४ घरले २ करोड ४८ लाख ६४ हजार रुपैयाँ बुझेको तर तेस्रो किस्ताबापत तीनवटा घरले मात्र १ लाख ५१ हजार २ सय रुपैयाँ मात्र बुझेको उनले बताए । दोस्रो चरणको जनता आवास कार्यक्रम अन्तर्गत २ करोड ३७ लाख २१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले जानकारी गराए ।

किस्ता लैजाने तर काम नगर्ने प्रवृत्तिले पहिलो चरण र दोस्रो चरणको घर निर्माणमा ढिला भएको उनको भनाइ छ । निमित्त प्रमुख साहले किस्ता बुझेर घर निर्माण नगर्नेहरूलाई निरन्तर ताकेता गर्दै आएको बताए । प्रदेश सरकार, मन्त्रालय स्तर र आपूmसमेत गरी तीन चरणमा अनुगमन भइरहेको उनले जानकारी गराए ।

जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा दुई चरणमा बनिरहेका घरहरूमा शौचालय बनाइएको छैन । जनता आवास कार्यक्रम कायर्Fन्वयन एकाइले चौथो किस्ताको रकम अन्तर्गत छाना, झ्याल, ढोका र शौचालय निर्माणको लागि बजेट विनियोजन गरे पनि सम्बन्धित घरधनीहरूले शौचालय बनाएका छैनन् ।

घरको डिजाइनमा २ वटा कोठा, बरन्डा मात्रै रहेको र शौचालय डिजाइनमा नपरेकोमा घरधनीले बनाउनुपर्ने जिम्मेवारी तोकिएको कारण दुई चरणमा करीब १२ सय घर बन्ने कार्यक्रम रहे पनि एउटा पनि शौचालय बनेको छैन । निमित्त प्रमुख साहले शौचालय बनाउने जिम्मेवारी घरधनीको भएको बताए । उनले कसैले पनि शौचालय नबनाएको कुरालाई स्वीकारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here