प्रस, महोत्तरी, १० भदौ/
महोत्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। महोत्तरीका सङ्क्रमित ६० वर्षीय एक पुरुषको उपचारको क्रममा मङ्गलवार राति विराटनगरमा मृत्यु भएको हो।
विराटनगरको न्युरो अस्पतालका निर्देशक रञ्जीतराज बस्नेतका अनुसार साउन ३१ गते अस्पताल भर्ना गरिएको बिरामीको स्वाब परीक्षण गर्दा बितेको आइतवार पोजेटिभ रिपोर्ट आएको थियो। पोजेटिभ रिपोर्ट आएपछि आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको अवस्थमा मङ्गलवार राति उनको मृत्यु भएको हो। योसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या पाँच पुगेको छ।
मङ्गलवार दिउँसो पनि जिल्लाका दुईजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो। सिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका–३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। प्रजिअ कटुवालका अनुसार मनरा सिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुषको जलेश्वर अस्पतालमा मृत्यु भएको हो। ती पुरुषलाई आइसोलेशनमा राख्ने तयारी भइरहेका बेला मृत्यु भएको उनले बताए।
यस्तै, बलवा नगरपालिकाका ७७ वर्षीय पुरुषको धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई सोमवार साँझ अस्पताल भर्ना गरिएको थियो।