(संयुक्त राष्ट्रसङ्घ, ८ असार/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानको लागि संयुक्त राष्ट्रसङ्घका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन् । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताएका छन् । तर यहाँको सुरक्षाको अवस्थाका बारेमा भने उनले चासो व्यक्त गरेका छन् ।
उनले भनेका छन् कि दक्षिण सुडानको राजनीतिक र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उनले बताए । संयुक्त राष्ट्रसङ्घले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिएका छन् ।
उनले भने– यहाँ संयुक्त राष्ट्रसङ्घले गएको मे महीनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ । यहाँका राष्ट्रपति साल्भा किरले हालै मात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गरेका थिए । त्यस विधायक सभाले यहाँ नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
हाल पनि संसारको कान्छो देशका रूपमा चिनिएको दक्षिण सुडान १० वर्षअघि नयाँ राष्ट्रका रूपमा स्थापना भएको हो । आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । साथै संयुक्त राष्ट्रसङ्घ र विश्वका कतिपय देशको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको छ । रासस