महेन्द्रनगर, ५ असार/रासस
कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पूर्णरूपमा अवस्था सामान्य बनिसकेको छैन। तर कोरोना त्रासदीका बीच जीविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ।

सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआए पनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरूको लाम लाग्न थालेको छ। डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जाँदैछु,” कञ्चनपुरको पूर्वी गौरीफन्टाबाट भारतको मुम्बई जान हिंडेका दीपेन्द्र खड्काले भने, “यहाँ बसेर कोरोनाबाट त बाँच्यौं तर भोकले मर्ने स्थिति बनेपछि मुग्लान जानुको विकल्प रहेन।”

कोरोना कहरका बेला गत चैतमा स्वदेश फर्किएका खड्काले स्थानीयस्तरमा रोजगारका कुनै सम्भावना नहुनु दुःखद कुरो भएको बताए। “कृषि र पशुपालनमा लागेर गाउँमैं बसेर जीविका चलाउने मन थियो,” उनले भने, “पारिवारिक अवस्था कमजोर भएकोले त्यो सम्भव भएन।” गत चैत महीनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहे पनि अहिले कोरोना कम हुँदा कामका लागि भारतका विभिन्न शहर जाने क्रम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारको गन्तव्य नै दशकौंदेखि भारत नै हो।

डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खड्कजङ्ग शाहीले गत जेठ महीनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली भारत रोजगारका लागि गएको जानकारी दिए। “भारतबाट स्वदेश फर्किनेहरूलाई गन्तव्यमा पु–याउन नाकामैं बसको व्यवस्था गरिएको छ,” उनले भने, “बसहरू गन्तव्यमा यात्रु पु–याएर फर्किंदा त्यसैमा भारत जाने आउँछन्।”

उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालीकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताए। प्रहरी नायब निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए। “अहिले त महिला, बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्,” उनले भने, “यो नाकाबाट दिल्ली, मुम्बई, पुणे, अहमदाबादलगायतका शहरमा बढी जाँदा रहेछन्।”

त्यसैगरी, शुक्रवार पतिसहित कामका लागि भारतको पञ्जाब जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरू लामो समयदेखि भारतमा रोजगारमा रहेर परिवारको जीविका चलाउँदै आएको बताइन्। “यहाँ त कोरोनाको बेलामा कामसमेत पाउने स्थिति छैन,” उनले भनिन्, “कोरोनाको समयमा रोगले भन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जाँदैछौं।”
केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरू दैनिकरूपमा भारत जाने क्रम बढ्दै गएको हो।

शुक्रवारको तथ्याङ्क हेर्दा गौरीफन्टा नाकाबाट ७ सयजनाभन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन्। त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताए। “कोरोना कहर कम हुँदै जाँदा आउनेहरू घटेका छन्,” प्रवक्ता थापाले भने, “नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here