शिक्षकहरू कोरोना सङ्क्रमणबारे जनचेतना फैलाउँदै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

माधव तिमल्सिना, ठोरी, ९ भदौ/
    कोरोना सङ्क्रमणबारे विभिन्न अफवाह फैलिएर समाजमा त्रासको वातावरण बढेपछि ठोरीमा शिक्षकहरू समुदायमा पुगेर सचेतना बढाउन थालेका छन्।
    कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने समयमा लापर्बाही बढ्न थालेको भन्दै ठोरीमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूले समुदायमैं पुगेर कोरोना रोकथाम र नियन्त्रण तथा यससम्बन्धी भ्रमबारेमा चेतना जगाउन थालेका हुन्।
    ठोरी गापाको गत आइतवार बसेको गाउँकार्यपालिको बैठकले कोरोना सङ्क्रमितहरूलाई समाजले अपमानित गर्न थालेको तथा यसबारेमा भ्रम फैलाउने र समुदायस्तरमा सावधानी अपनाउन पनि छाडेको निष्कर्ष निकाल्दै शिक्षकहरूलाई जनचेतना जगाउन स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको थियो।
    गाउँँ कार्यपालिकाको बैठकको निर्णय तथा शिक्षा मन्त्रालयको नीति अनुसार शिक्षकहरूलाई स्वास्थ्य सतर्कता अपनाएर समुदायमा चेतना जगाउन परिचालन गर्न थालिएको ठोरी गापाका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिए। उनले शिक्षकहरूका लागि आवश्यक मास्क, सेनिटाइजरलगायतको व्यवस्था गापा कार्यालयले गर्ने भएकोले शिक्षकहरूलाई आफू बसोबास गरेको क्षेत्र वरपर कोरोना रोकथामबारे जनचेतना जगाउन अनुरोध गरिएको बताए।
    मङ्गलवारेदेखि शिक्षा संयोजक जोशी आफैं पनि कोरोनाबारे वडा नं ३ मा जनचेतना जगाउँदै हिंडेका छन्। शिक्षा संयोजकसँगै उनी कार्यरत विद्यालय नेरामावि ओडारका शिक्षकहरू पनि आआफ्नो टोलटोलमा पुगेर जनचेतना जगाएका छन्।
    त्यसैगरी, ठोरी–२ मा रहेको सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीसहितका विद्यालयका शिक्षकहरू वडा नं. १ का विभिन्न टोलहरूमा पुगेका छन्। घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न, जथाभावी भेला नहुन, सामाजिक दूरी कायम गर्न, साबुनपानीले हात धुन, कोरोना सङ्क्रमितलाई अपमान नगर्नलगायतका चेतनामूलक अनुरोध गर्दै जनचेतना जगाइरहेका छन्।
    यसैगरी, वडा नं ३ मा ज्ञानज्योति मावि घ्याङडाँडाका प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेल, गृष्म आवि रामनगरका शिक्षक ङेमा तामाङलगायतले बुद्धनगर वरपरका क्षेत्रमा समुदायमा पुगेर कोरोनाबारेमा जनचेतना जगाइरहेका छन्। शिक्षकहरूले चोक–चौतारामा भेला भएका, मास्क प्रयोग नगरेका, अनावश्यक हिंड्डुल गरिरहेका स्थानीयहरूलाई सम्झाइबुझाइ गरेको र कोरोना सङ्क्रमणबारेमा जानकारी दिएको शिक्षा संयोजक जोशीले बताए। उनले यसलाई अभियानका रूपमा सञ्चालन गरिएकाले गापाका प्रत्येक टोलमा शिक्षकहरू पुग्ने जानकारी दिए। उनले शिक्षकहरूले कोरोना सङ्क्रमितहरूलाई फरक व्यवहार गरेर अपमानित गर्न थालेको भन्दै त्यस सम्बन्धमा पनि स्थानीयहरूलाई जानकारी गराउँदै सचेत पारिरहेको बताए।
    सखुवाटी प्रावि सुवर्णपुरका प्रधानाध्यापक अमृत श्रेष्ठलगायतले पनि घरदैलोमा पुगेर जनचेतना जगाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।