प्रस, वीरगंज, ९ भदौ/
नारायणी अस्पतालका सेवाहरू क्रमिकरूपमा शुरू भइरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले एक सातादेखि अस्पतालका सेवाहरू क्रमिकरूपले सुचारु भइरहेको बताए।
निषेधाज्ञा र सङ्क्रमण फैलिएर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू सङ्क्रमित भएपछि आकस्मिक सेवाबाहेक बन्द भएका अन्य सेवाहरू क्रमिकरूपले शुरू भइरहेको अध्यक्ष्F लाभले बताए। उनले ७० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सङ्क्रमित भएको र अहिले क्रमिकरूपमा उनीहरूमा सुधार आएपछि सेवाहरू पनि सुचारु हुँदै गएको बताएका छन्।
अस्पतालले आकस्मिक सेवाबाहेक अहिले प्रसूति, एनआइसियू, शल्यक्रिया कक्ष, मिर्गौलाको डायलोसिसलगायतका सेवा सुचारु गरेको उनले बताए। तत्काललाई प्रसूति भएका महिलाहरूको लागि शल्यक्रिया कक्ष सुचारु गरिएको उनले प्रस्ट्याएका छन्। सामान्य शल्यक्रियाको लागि अझै केही दिन लाग्ने उनले बताए। निषेधाज्ञाको कारण ओपिडी सेवा सञ्चालनमा समस्या भएको भन्दै उनले निषेधाज्ञा हट्नासाथ ओपिडी सेवा पनि सञ्चालनमा आउने बताए। अस्पतालले आकस्मिक सेवासँगै २० शय्याको अब्जर्भेसन कक्ष्F सञ्चालनमा ल्याएको अध्यक्ष लाभले जानकारी गराएका छन्।
लकडाउन शुरू भएपछि वीरगंजमा आइसोलेशनको अभावमा नारायणी अस्पताललाई कोभिड अस्पताल घोषित गरिएको थियो। त्यसको एक महीनापछि जनरल सेवा शुरू भएको नारायणीलाई पुनः कोभिड बनाउन मन्त्रालयले पत्राचार गरेको थियो तर स्थानीय राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्थाबाट नारायणीलाई कोभिड अस्पताल बनाउने सरकारको निर्णयको विरोध भएपछि जनरल सेवा थपिंदै गएको हो। दोस्रोपटक कोभिड अस्पताल बनाउनको लागि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प गरिएको थियो।