प्रस, पर्सागढी, ३ असार/
पर्सागढी नगरपालिका कार्यालयको भवन निर्माणमा कमसल निर्माण सामग्री प्रयोग भएको पाइएको छ। पर्सागढी नगरपालिका–८ हरपुरमा निर्माण भइरहेको अढाई तले पक्की भवनमा अहिले प्रयोग भइरहेका निर्माण सामग्रीमध्ये बालुवा, ग्रेभल, इँटा सम्झौताविपरीत कमसल प्रयोग भएको पाइएको छ।
भवनमा प्रयोग भएका इँटामध्ये लिन्टरसम्मको निर्माणमा २५ प्रतिशत दुई नम्बर इँटा प्रयोग भएको छ भने बालुवा र गिट्टीमा पनि मापदण्डविपरीत माटो मिसिएको पाइएको छ।
निर्माणस्थलमा राखिएका यी सामग्रीलाई जोकोहीले हेर्दा कमसल भएको ठहर गर्न सक्छ। रु ३ करोड ६६ लाखको लागतमा स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौंले ठेक्का सकार गरेको र निर्माण कार्यको रेखदेख स्थानीय प्रतिनिधि दिनेश कुशवाहाले गरिरहेका छन्।
कमसल सामग्री प्रयोग भएको विषयमा नगरपालिकाका इन्जिनीयर विजय सिंहले प्रयोगशालामा परीक्ष्Fण गरेर निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गरे। तर उनले दाबी गरे अनुसारको निर्माणस्थलमा सामग्रीको प्रयोग भएको पाइएको छैन।
स्थानीयहरूले नगरपालिका कार्यालयजस्तो जिम्मेवार संस्थाको भवन निर्माणमा कमसल सामग्री प्रयोग भइरहेकोमा चिन्ता जाहेर गरेका छन्। उनीहरूले नगरपालिकाको भवनमा अनियमितता हुन्छ भने त्यस अन्तर्गत बन्ने विकास निर्माणमा कतिको भद्रगोल हुन्छ भन्ने सहज अनुमान गर्न सकिने टिप्पणी गरेका छन्।
स्वच्छन्द निर्माण सेवाका प्रतिनिधि दिनेश कुशवाहाले भने कमसल निर्माण सामग्री प्रयोग नभएको धम्कीपूर्ण भाषामा बताएका छन्। उनले आफ्नो साइटमा गएर फोटो खिच्ने, समाचार लेख्ने पत्रकारलाई तह लगाउने धम्की पनि दिए। मेरो काममा खोट हुँदैन भन्दै उनले कुनै पनि पत्रकारले आफूविरुद्ध समाचार लेखे ठीक नहुने चेतावनी दिएका छन्।