प्रस, वीरगंज, ३ असार/
वीरगंज महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी, पर्साद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगंजको भवन निर्माणको लागि जग्गा दिने सम्झौता गरेको छ।
नारायणी अस्पताल वीरगंज परिसरमा रहेको रक्तसञ्चार केन्द्र अस्पतालको भौतिक पूर्वाधार विकासमा पर्न गएको र वीरगंजको मेनरोड फराकिलो गर्ने क्रममा सो भवन पर्ने हुँदा महानगरपालिकाले रेडक्रसलाई रक्तसञ्चार केन्द्र निर्माणको लागि जग्गा उपलब्ध गराउन लागेको हो।
वीरगंज–३ मालपोत सडकअगाडि रहेको पुरानो दमकल र हालको सशुल्क पार्किङ क्षेत्रमा रक्तसञ्चार केन्द्र निर्माणको लागि नगरपालिकाले जग्गा उपलब्ध गराउन सम्झौता गरेको हो।
रेडक्रस पर्साका सभापति वीरेन्द्रराज कँडेल र वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाबीच सो विषयको सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो। नगरप्रमुख विजयकुमार सरावगीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।