काठमाडौं, ३ असार/रासस
मनसुनको सुरुआतमैं देशका विभिन्न स्थानमा बाढीपहिरोका अकल्पनीय घटना हुन थालेका छन्। सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ गतेपछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेका छन्।

विज्ञका अनुसार यसपालि अप्रत्याशितरूपमा लेदो र गेगरसहितको बाढी आएको थियो। यसले बढी क्षति पु–याउन मदत ग–यो। मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा वर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो। पूर्वसूचनाका बीच पनि सुरुआती चरणमैं मनसुनजन्य घटनाबाट हुने असर न्यूनीकरण हुन सकेन। सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ।

गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सातजनाको मृत्यु भएको छ। अन्य २५ जना हराइरहेका छन्। गत वर्ष भेलपहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपालि पनि मनसुनको सुरुआती समयमैं त्यसैगरी प्रभावित हुन पुगेको छ।

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीनजनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक/एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुर्ईजना चिनियाँ नागरिक छन्। एकजनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोकका १४ जना सम्पर्कविहीन रहेको जानकारी दिए। हराएका १८ मध्ये चारजना सम्पर्कमा आइसकेका छन्। जाजरकोटका विकट क्षेत्रमा ७ जना हराइरहेका छन्। बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक/एक जना बेपत्ता छन्।

सिन्धुपाल्चोकमा यसपालि पनि अप्रत्याशितरूपमा बाढी आएको हो। हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठूलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ। त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठूलो असर पु–याएको छ। सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ। अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ।

मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए। उनका अनुसार अन्य विवरण सङ्कलन जारी रहेको जनाइएको छ। भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ।

जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो। जिल्ला सदरमुकामबाट निकै टाढा तथा चार हजार ८०० मिटरको उचाइमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो। जिल्लामा सातजना हराइरहेका छन्। घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन। कुसे गाउँपालिका–८ जलजला पाटनमा अविरल वर्षा र हावाहुरीले गर्दा सातजना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए। उनका अनुसार पाटनमा गाईवस्तु लिन गएका ११ जनामध्ये अन्य चारजना भने सम्पर्कमा आएका छन्। विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरूको उपचार जारी रहेको छ। सरकारले उनीहरूको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ।

बाढी पहिरोले १२९ घर बगायो

मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए। उनका अनुसार बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङ्गमा १८, अर्घाखाँचीमा १२ र कास्कीमा १८ घर पूर्ण क्षति भएका छन्। अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ। यस्तै, विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ।

उद्धार र राहत वितरण जारी

मनाड्ढो चामे र तालगाउँँ क्षेत्रका ५०० बढी प्रभावितहरूलाई यहाँको सिरनताललगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ।

यस्तै, सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ। त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित बिएन्डबी अस्पतालमा ल्याइएको छ।

सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ ब्यागलगायत सामान काठमाडौंबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ। दाङस्थित राप्ती नदीको टापुमा भैंसी चराउन गएका बेला फसेका चारजनालाई सकुशल उद्धार गरिएको छ। यस्तै, कास्कीको मादी गाउँँपालिका–१ स्थित विस्थापित १८ परिवारलाई दूधपोखरी माविमा ल्याएर राखिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here