प्रस, वीरगंज, ९ भदौ/
नेपाल टेलिभिजनका संवाददाता विजय महतोमाथि अलौंका स्थानीय बासिन्दाले दुव्र्यवहार गरेको समाचार छ।
दुई पक्षबीच पञ्चायती भइरहेको दृश्य लिइरहेका पत्रकार महतोलाई स्थानीयले घेराउ गरी क्यामरा खोसेका थिए। केही दिनअगाडि सो नाकाबाट तस्करी गर्दै आएका तस्करहरूको सामान प्रहरीले पक्रन थालेपछि एक तस्करले अर्को तस्करमाथि आरोप लगाउँदै आएको थियो। सोही विषयलाई लिएर केही दिनअघि दुई समूहबीच कुटाकुट भएको र दुवै पक्षले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। निवेदन दिनेहरूले छुट्टै कारण देखाइ कुटपीट भएको र कारबाईको माग गर्दै निवेदन दर्ता गराएका थिए। सोही विवाद मिलाउन आज पञ्चायती बसेको थियो। सोही पञ्चायतीको दृश्य लिन खोज्दा केही युवाले पत्रकारको कुनै काम छैन भनेर दुव्र्यवहार गर्नुका साथै क्यामरा खोसेका थिए। प्रहरीले हस्तक्षेप गरी महतोलाई क्यामरा दिन लगाएको थियो।
प्रहरी चौकी अलौंका प्रनानि गजानन्द साहले दुवै पक्षबीच कुटाकुट भएको र जिल्लाबाट छलफल गरी मिलाउनको लागि प्रहरी पनि पञ्चायतीमा बसेको जानकारी गराए।