महोत्तरी, २ असार/रासस
“उजाडिएको परिवार अब के गरी सम्हालिन्छ हजुर…” सहानुभूति दर्शाउन घर पुग्ने जोसुकैसँग महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ६५ वर्षीय बलबहादुर परियार बलिन्द्र धारा आँसु काढ्दै एकोहोरो यस्तै बिलौना गर्छन्। “अब बुताको कुरा रहेन, दयामायामा पुग्यो जिन्दगी १ दाताकै सहारामा बाँकी जीवन हुने’भो १” एक दिनको फरकमा दुर्ई छोरा गुमाउँदाको पीडाले गलेका परियारको थप बिलौना हुन्छ।
गत जेठ अन्तिम साता परियार परिवारमा बज्रपात भयो। जेठ २८ गते जेठो छोरा ४० वर्षीय बौवा भनिने देवबहादुर परियार घरनजीकै पासो लागेको अवस्थामा मृत भेटिए। त्यसको लगत्तै भोलिपल्ट जेठ २९ गते ३५ वर्षीय माइलो छोरा रमेश परियार बर्दिबास–१ मा पर्ने पूर्व–पश्चिम राजमार्गनजीकै मृत भेटिए। एक दिनको फरकमा दुई छोराको अस्वाभाविक मृत्युले परियार परिवार अहिले विक्षिप्त अवस्थामा पुगेको छ।
सानो काठे घर, एकापट्टि बलबहादुर थाप्लामा हात राखेर बिलौना गरिरहेका देखिन्छन्। अर्कापट्टि मृतक रमेश परियारकी करीब ३० वर्षीया पत्नी सञ्जु दुर्ई लालाबाला काखमा लिएर बिलौना गर्दै। रुँदारुँदै अब परियार परिवारको आँसु रित्तिदै छ। “हजुर, तीन छोरा ससानै थिए, बूढी (पत्नी) मरी, यिनले पाल्छन् भन्ने आसले अर्की ल्याउनेतिर लागिन, बनीबुतो गरेर हुर्काएँ,” बलबहादुरले घरमा पुगेका सञ्चारकर्मीसँग भक्कानिंदै भने, “कान्छो घर छाडेर हिंड्यो कान्छी लिएर, घरमा भा’का दुईटा भकाभक मरे, यो काल मलाई चैं किन आएन ?” तीन भाइ छोरा भएपनि जेठो क्यान्सरले गाँजेको हुँदा सिकर्मी सीप भएको माइलाले काम गरेर परिवारको भरणपोषण चलाएको बलबहादुरको भनाइ छ। “ऊ ढले (मरे) पछि मेरो परिवार उजाडियो, अब माइली बुहारी, नातिनातिना र आफू कसको सहारामा बाँच्ने ?” बलबहादुरले आफ्नो दुःखेसो पोखे।
केही वर्ष वैदेशिक रोजगारमा मलेसिया रहेका जेठा छोरा (देवबहादुर) को दुर्घटनामा परी एउटा खुट्टा जखम भएर दुर्ई वर्षअघि घर फर्केपछि क्यान्सर भएको थियो। बिहे पनि नगरेका र रोगका कारण जीवनबाट निराश भएका जेठाले आत्महत्या रोजेको परिवारका सबै बताउँछन्। तर दिनहुँ काम गर्दै आएका माइलाको मृत्युबारे परियार परिवारले चित्त बुझाउने ठाउँ भेट्टाएको छैन। “ऊ कर्तव्यमैं परेको हुनुपर्छ,” बलबहादुले भने। घरबाट करीब दुर्ई किलोमिटरको दूरीमा राजमार्गनजीक मृत भेटिएका रमेशको शरीरमा देखिएका चोटबारे गहिरो अनुसन्धान हुनेपर्ने परियार परिवारको माग छ।
गौरीडाँडामा एक कट्ठा ऐलानी पर्ती जग्गामा सानो कटेरोजस्तो घरबाहेक यो परिवारको टेक्ने समाउने अन्य कुनै भरथेग नभएको छिमेकी बताउँछन्। “बलबहादुरले आफ्नो बुता हुँदा बनीबुतो गरेर छोरा हुर्काउनुभयो, अहिले लगालगी दुई छोरा गएपछि बज्रपात प–यो,” छिमेक बस्तीकै सामाजिक, राजनीतिक कार्यकर्ता सरिता ढुङ्गानाले भनिन्, “खासमा माइलाको मृत्युले यो परिवारको गाँस खोसियो।” घरमा आउनेसँग बलबहादुर सकीनसकी कुरा गरे पनि सञ्जु (रमेशकी पत्नी) भने पतिको मृत्युसँगै अचेतजस्तै देखिन्छिन्। दुईतिर छोराछोरी (एक छोरा, एक छोरी) राखेकी सञ्जु हिक्किंदै रुनबाहेक बोल्न सकेकी छैनन्। परिवारको बिचल्ली देखेर सामाजिक सङ्घसंस्थाले तत्काल भरथेग गर्न तयारी खानेकुरा (चाउचाउ, बिस्कुट) र केही खाद्यान्न पु–याइदिएका छन्। परियार परिवार अहिले यस्तै सहयोगले चलेको छ। “दया हुने आएर बुहारी र नानीहरूलाई ललाइफकाइ ख्वाइ दिन्छन्, म पनि केही खाएर सास अल्झाइरहेको छु,” बलबहादुरले सहयोगीप्रति कृतज्ञभाव दर्शाउँदै भने, “पापी सास जान सकेन, बुढेसकालमा बिल्लबाठ हुनुप–यो।”
परियार परिवारलाई परेको यो चोटमा दलित मुक्ति समाज बर्दिबासले खाद्यान्न र फेरफारका लत्ताकपडा सहयोग गरेको छ। परिवारजनलाई सान्त्वना दिएर सहज बनाउन छरछिमेक पनि लागिपरेको छिमेककै सामाजिक कार्यकर्ता सरोज गजमेरले बताए। मर्ने त मरेर गइ गए। बाँचेका आफूहरूलाई सधैंको पिरलो सहनुपर्ने बाध्यता आइलागेको बलबहादुरले बताए। “जेठो त विरक्तिएको थियो जीवनबाट, तैपनि केही वर्ष बाँचोस् भन्ने आस हुँदाहुँदै झुन्डिएछ, तर माइलो कसरी म–यो ? हजुर यो पत्ता लगाउन सहयोग गरिदिनुप–यो,” बलबहादुरको घर पुग्नेहरूसँग आग्रह छ। घरमा सहयोगस्वरूप आएको सामग्री तुरिएपछि के गर्ने भन्ने बलबहादुरको पिरोलो छ। शारीरिकरूपमा अशक्त र कान पनि राम्ररी नसुन्ने ६५ वर्षीय बलबहादुर सहाराका लागि घरीघरी बुहारीतिर नजर लगाउँछन्। “अब एउटै आस सञ्जु हो, यिनी सम्हालिनै पर्छ,” छिमेकी गङ्गा परियारले भनिन्, “आपद्मा धैर्य डगाउनु त भएन नि १” गङ्गाको भनाइले सह पाएका बलबहादुर पनि सञ्जुतिर फर्कंदै नानीहरूको मुख हेरेर बुहारीलाई सम्हालिन आग्रह गर्छन्।
यसैबीच, बर्दिबास–३ का अध्यक्ष राजन ढुङ्गानाले परियार परिवारको तत्काल राहत र सञ्जुलाई उपयुक्त कामका लागि पहलकदमी लिने बताए। “परियार परिवारको बिचल्ली भएको छ,” उनले भने, “आपत्कालीन राहतका लागि सहयोग जोरजाम गर्नुप–यो, मुख्य कुरा चैं परिवार जोगाउन सञ्जुलाई उपयुक्त कामको खोजी गर्नु छ।” यता इलाका प्रहरी कार्यालय बर्दिबासले दुवै दाजुभाइको मृत्युको घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।