प्रस, पोखरिया, १ असार/
उच्च अदालत वीरगंज इजलासले पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माविको प्रधानाध्यापक नियुक्ति विवादमा अन्तरिम आदेश जारी गरेको छ।
जेठ ३० गते उच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले जिल्ला उच्चाङ्गल रामदेव कलवार माविको प्रअ नियुक्ति सम्बन्धमा विनोद महतोलाई अर्को आदेश नहुन्जेलसम्म काम गराउन अन्तरिम आदेश जारी गरेको छ। महतोले उच्च अदालतमा आफू निमित्त प्रअ रहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख दीपनारायण रौनियारले ओमप्रकाश रौनियारलाई जेठ २ गते प्रअ नियुक्त गरेको विरोधमा रौनियारद्वयसहित माविसमेतलाई विपक्षी बनाएर रिट दिएका थिए।
रिट सम्बन्धमा अदालतले अन्तरिम आदेश जारी गर्दै १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश जारी गर्दै सो अवधिसम्म महतोलाई प्रअको जिम्मेवारी अनुसार काम गराउन आदेश गरेको छ। जिल्ला उच्चाङ्गल रामदेव कलवार माविका प्रअ व्यास महतो सेवानिवृत्त भएपछि २०७७ चैत ३० गते उनले विनोद महतोलाई निमित्त दिएका थिए। तर वरिष्ठताको आधारमा आफूले प्रअको जिम्मेवारी पाउनुपर्ने भन्दै ओमप्रकाश रौनियारको दाबी परेपछि नगरप्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रौनियारले जेठ २ गते उनलाई प्रअको जिम्मेवारी दिएका थिए।
नगरप्रमुख रौनियारले शिक्षा मन्त्रालयबाट वरिष्ठताको बारेमा सोधनी गरी रौनियारलाई प्रअको जिम्मेवारी दिएको बताउँदै आए पनि विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूले समितिमा सो सम्बन्धमा छलफल नगरिएको र नगरप्रमुखको एकलौटी निर्णयबाट प्रअ नियुक्त भएको भन्दै विरोध गर्दै आएका थिए।