- प्रस, सिराहा, ३० जेठ/
सिराहा जिल्लाको गोलबजार नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई अन्तर्राष्ट्रिय सामाजिक संस्था हेल्पिङ ह्यान्डले ४५ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।
कोभिड–१९ सङ्क्रमितको उपचारार्थ स्थानीय पालिकाले आफ्नै स्रोत साधनबाट सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पतालको लागि संयुक्त राज्य अमेरिकाको मिचिगनमा मुख्यालय रहेको हेल्पिङ ह्यान्ड नेपाल च्याप्टरले स्वास्थ्य सामग्री प्रदान गरेको हो। सो संस्थाले पठाएको रु ४५ लाखबराबरको स्वास्थ्य सामग्री सामाजिक संस्था हेस्रा नेपालले अस्पताललाई हस्तान्तरण गरेको हो।
सहयोग सामग्रीमा आइसियू शøया, इसिजी मेशिन, विद्युतीय शøयालगायत विभिन्न १२९ प्रकारका स्वास्थ्य उपकरण छन्। उक्त सामग्री गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहको रोहबरमा अस्पताललाई हस्तान्तरण गरिएको हेल्पिङ ह्यान्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलले जानकारी दिए।
सहयोगबापत प्राप्त सामग्री कोभिड महामारी रहेसम्म अस्थायी कोभिड अस्पतालमा रोगीहरूको उपचारार्थ प्रयोग गरिने र महामारी मत्थर भएपछि अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित स्तरोन्नति गर्ने लक्ष्य रहेकोले उपलब्ध स्वास्थ्य सामग्री निकै उपयोगी रहेको नगरप्रमुख साहले बताए।
उक्त अस्पताललाई यसअघि पनि हेल्पिङ ह्यान्डले हेस्रा नेपालमार्फत करीब रु तीन लाखबराबरको अक्सिजन सिलिन्डर, थर्मलगन, पिपिई, सेनिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क र ३०० थान कपडाको मास्क उपलब्ध गराएको थियो।