माधव तिमल्सिना, ठोरी, ३० जेठ/
सरकारले सवारीसाधन सहज आवागमनको लागि करोडौं खर्च गरेर बनाएको हुलाकी सडकमा स्थानीयले बिस्कुन सुकाउन थालेपछि दुर्घटना बढेको छ।
ठोरीको चमरीहोलदेखि साबिक ठोरी गाविससम्म जोड्ने सडकलाई स्थानीयवासीले धान, मकै, पराल सुकाउने थलोको रूपमा प्रयोग गर्न थालेपछि दुर्घटनाको जोखिम पनि बढेको छ। कतिपय स्थानमा हुलाकी सडकको भाग कब्जा गरेर घर बनाउन गिट्टी, बालुवालगायतका निर्माण सामग्री थुपारिएको छ।
गत शुक्रवार ठोरी गाउँपालिका–३, ब्रह्मनगरमा हुलाकी सडकमा मकै सुकाउँदा एउटा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भए। सडकमा सुकाएको मकैमा चिप्लिएर दुर्घटना भएपनि चालकलाई गम्भीर चोटपटक लागेन।
जेठको तेस्रो सातादेखि ठोरीमा हिउँदे मकै भिœयाउन यहाँका किसानलाई भ्याइनभ्याइ हुन्छ। पानी पर्न थालेपछि बारीबाट घरमा ल्याएको मकै कुहिनबाट जोगाउन किसानलाई हम्मेहम्मे परेको छ। यस्तो समयमा हुलाकी सडक छेउछाउका किसानले घाम लागेको बेला सडकमा मकैको घोगाको बिस्कुन लगाउँदा दुर्घटनाको जोखिम बढेको ठोरी गापा–३ का गोकुल प्रधानले बताए। उनले सडकमा जथाभावी थुपारिएको मकै, धान र परालले चालकलाई सास्ती हुने गरेको बताए।
कालोपत्रे सडक एकैछिनमा ओभानो हुने तथा धान, मकै, पराललगायत खाद्यान्न सुकाउन सजिलो हुने र छिट्टै सुक्ने भएकाले सडकमा बिस्कुन लगाउने गरेको एकजना किसानले बताए। उनले घरको आँगनमा पानी जमेकोले बाध्य भएर सडकमा मकै सुकाउनुपरेको बताए।
असार शुरू हुनै लाग्दा ठोरीका कतिपय किसानले चैतमा लगाएको धान भिœयाउन शुरू गरेका छन्। केही दिनयताको झरीका कारण हुलाकी सडक आसपासका किसानहरूले हुलाकी सडकमा धान र पराल सुकाउँछन् भने कुनै किसानले सडकको किनारामा परालको कुन्यू लगाउँँछन्। यसरी सवारीसाधन निर्बाध गुड्न बनाइएको सडक अतिक्रमण गरेर कृषिजन्य सामग्री सुकाउँदा दुर्घटना हुने गरेको ब्रह्मनगरका रत्न श्रेष्ठले बताए। त्यस्तै, सडक ओगटेर पनि कतिपय ठाउँमा निर्माण सामग्री राखिएका छन्।
यसैगरी, सडक किनारमा पार्किङ गरिने ट्याक्टर, गोरुगाडालगायतले पनि दुर्घटनाको जोखिम बढाएको छ। सडक सबैको साझा सम्पत्ति भएको र सडकमा कुनै पनि सामग्री राख्न नपाइने इप्रका, ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले बताए। उनले स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसँग समन्वय गरेर सडकमा जथाभावी सामग्री राख्नेलाई कारबाई गर्ने बताए।