प्रस, ठोरी, २९ जेठ/
पर्साको ठोरी गापामा शनिवार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनसम्बन्धी गापास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ग्रामीण विकास प्रशिक्षण केन्द्र अन्तर्गतको प्रादेशिक सुशासन केन्द्र, जनकपुरधामको आयोजनामा गाउँ कार्यपालिकाको कार्यालय ठोरी–४ घ्याङ्गडाँडामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यक्रमको अवधारणा, उद्देश्य, स्वमूल्याङ्कनका आधार, प्रक्रियालगायतका विविध विषयमा जानकारी गराइएको थियो।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी छविरमण भट्टराई र सहजकर्ता जयनारायण चौधरीले सहभागीहरूलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनका विभिन्न १० वटा क्षेत्र अन्तर्गतका विषयमा सहजीकरण गरेका थिए।

कार्यक्रममा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य समन्वय विषयमा सहभागीहरूसँग छलफल भएको ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठले जानकारी गराए।

सो अवसरमा सहभागी जनप्रतिनिधिहरूले स्वमूल्याङ्कनले स्थानीय तहको अवस्थाबारेमा जानकारी गराउने हुँदा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै स्वमूल्याङ्कन कार्यक्रम निर्वाचित भएको लामो समय बितिसक्दा शुरू नभएकोमा गुनासो गरेका थिए।

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा गापा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गापा उपाध्यक्ष शान्तिमाया थिङ, पालिकाका वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, जिल्ला समन्वय समिति पर्साका इन्जिनीयर विजयकुमार गुप्तालगायत पालिका कार्यालय अन्तर्गतका शाखा प्रमुखहरूको सहभागिता थियो।

प्रत्येक क्षेत्रका सूचक र विभिन्न अवस्थाका आधारमा अङ्कभार १०० कायम गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि–२०७७ का आधारमा पालिकाहरूले आफ्नो स्वमूल्याङ्कन तय गर्नुपर्ने कार्यक्रममा जानकारी गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here