प्रस, ठोरी, २९ जेठ/
ठोरी गाउँपालिकाको आन्तरिक बजेटबाट तलब खानेगरी नियुक्त भएका ठोरीका २१ वटै सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहयोगी स्वयंसेवक शिक्षकहरूले ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।

आगामी आवको बजेट भाषणमा नेपाल सरकारले विद्यालयमा कार्यरत बालविकास सहयोगी स्वयंसेवक शिक्षकलाई १५ हजार रुपैयाँ तलब दिने घोषणा गरेको थियो। सो घोषणासँगै ठोरी गापाका बालविकास सहयोगी स्वयंसेवक शिक्षकहरूले सरकारले तोकेबमोजिमको तलब सुविधा पाउनुपर्ने माग राखी ठोरी गापा अध्यक्ष श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको बालविकास सहयोगी स्वयंसेवक शिक्षककी अध्यक्ष रञ्जु स्याङ्बोले जानकारी दिइन्।

ठोरी गापाको कार्यालयमा पुगी अध्यक्ष श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिकको व्यवस्था, पोशाकभत्ता लगायतका सेवासुविधा पाउनुपर्ने माग राखी ज्ञापनपत्र बुझाइएको अध्यक्ष स्याङ्बोले जानकारी गराइन्। ज्ञापनपत्र बुझ्दै अध्यक्ष श्रेष्ठले मागहरू जायज रहेकाले यसमा आफू सकारात्मक रहेको बताएको बालविकास सहयोगी स्वयंसेवक शिक्षक दिलमाया दोङले जानकारी दिइन्। ज्ञापन बुझाउँदा ठोरी गापाका शिक्षा संयोजक भुपालकुमार जोशीको समेत सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here