काठमाडौं, २८ जेठ/रासस

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रवारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक/दुई दिनमैं मनसुन देशैभरि फैलिने सम्भावना छ। आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनसमेत अनुरोध गरेको छ। नेपालमा सामान्यतया मनसुन जून १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ। दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ।

हाल देशको पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताए। आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भएको महाशाखाले जनाएको छ। प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here