प्रस, वीरगंज, २८ जेठ/
पर्सा जिल्लामा बर्सेनि अपराधका घटनामा वृद्धि भइरहेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जिल्लामा आव २०७४/७५ मा ८७४ वटा अपराधका मुद्दा दर्ता भएको बताए।
यसैगरी, २०७५/७६ मा ९४४ वटा, २०७६/७७ मा १ हजार ८१ र चालू आवको जेठ १५ गतेसम्म १०३८ वटा अपराधका मुद्दा दर्ता भइसकेको जानकारी गराए। वार्षिक अपराधतालिका हेर्दा वृद्धि भइरहेको देखिन्छ।
पर्सा जिल्लामा सबैभन्दा बढी सार्वजनिक शान्तिविरुद्धको कसूर मुद्दा बढी दर्ता हुने गरेको छ। बर्सेनि ३६५ वटाको हाराहारीमा यो मुद्दा दर्ता हुने गरेको छ भने त्यसपछि लागूऔषधका मुद्दा बढी हुने गरेको छ। वार्षिक १५० वटा जति लागूऔषध मुद्दा दर्ता हुने गरेको छ।
यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, भवितव्य ज्यान, सवारी ज्यान, जबरजस्ती करणीजस्ता घटनाहरू बढी हुने गरेका छन्। पछिल्लो चरणमा बैंकिङ कसूरका मुद्दा पनि बढ्दै छ। २०७५ सालसम्म एउटा मात्र मुद्दा दर्ता हुने गरेकोमा गत वर्ष २४ वटा र यस वर्षको जेठ १५ गतेसम्म १५ वटा मुद्दा दर्ता भइसकेका छन्।
चोरीका घटना पनि वार्षिक वृद्धि भइरहेको छ। २०७४/७५ मा २१ वटा चोरीका घटना भए भने त्यसको अघिल्लो वर्ष ३७, गत वर्ष ६९ र अहिले चालू आवको जेठ १५ गतेसम्म ७४ वटा घटना भइसकेका छन्। नागरिकतासम्बन्धी मुद्दा पनि यस वर्ष बढी दर्ता भएका छन्। गत वर्ष १० वटा दर्ता भएको यो शीर्षकमा यस वर्षको जेठ १५ सम्म ६५ वटा मुद्दा दर्ता भएको जिप्रका, पर्साले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ। ठगी र सङ्गठित अपराध मुद्दामा पनि वृद्धि भएको छ। गत वर्ष यो शीर्षकमा २२ वटा मुद्दा दर्ता भए भने चालू आवको जेठ १५ सम्म ३२ वटा मुद्दा दर्ता भएका छन्।