प्रस, वीरगंज, २७ जेठ/

पर्सा जिल्लामा कोभिडविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा शुक्रवार र शनिवार गरी दुई दिन दिने भएको छ।

सरकारले देशभरका ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई भेरोसिेल खोपको पहिलो मात्रा दिने घोषणा गरे पनि पर्सा जिल्लामा भने भोलिदेखि शुरू हुने स्वास्थ्य कार्यालयका खोप अधिकारी अनिल सिंहले बताए।

उनले वीरगंज महानगरसमेत १४ वटै पालिकामा वडास्तरबाट खोप दिने व्यवस्था गरिएको जानकारी गराएका छन्। ६२ देखि ६४ वर्ष उमेरका नागरिक टाढासम्म हिंड्डुल गर्न नसक्ने हुँदा उनीहरूलाई वडास्तरमा खोपको व्यवस्था गरिएको अधिकृत सिंहले बताए।

भेरोसिेल खोप चीन सरकारले अनुदानमा उपलब्ध गराएपछि सरकारले जेठ २५ गतेदेखि देशव्यापीरूपमा दिन शुरू गरेको हो। पर्सा जिल्लामा यो उमेरका १२ हजार ३ सय नागरिक रहेको र उनीहरूको लागि १० हजार ८३० खोप आइपुगेको अधिकृत सिंहले बताए।

यही खोपबाट नेशनल मेडिकल कलेज र एमबी केडिया डेन्टल कलेजमा एमबिबिएस गरेका इन्टर्नहरूलाई पनि दिनुपर्ने निर्देशन आएको अधिकृत सिंहले बताए।

आवश्यकभन्दा कम मात्रामा खोप आएकोले व्यवस्थापनमा समस्या भएको अधिकृत सिंहले बताए।

पर्सा जिल्लामा यसअघि विभिन्न मापदण्डमा परेर पहिलो मात्राको खोप लिएकाहरूको लागि दोस्रो मात्राको खोप अहिले अनिश्चित भएको छ। पहिलो मात्राको खोप जिल्लामा करीब ३५ हजारजना मानिसले लिएका थिए।

चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, निजामती कर्मचारी, बैंककर्मी, पत्रकार, वारुणयन्त्र र शववाहन चालक, सुरक्षाकर्मी, ज्येष्ठ नागरिकलगायतलाई पहिलो मात्राको खोप दिइए पनि दोस्रो मात्राको खोप भने केवल ९ हजारजनाले मात्र पाएका छन्। पर्सा जिल्लामा अहिले करीब २६ हजारजनालाई पहिलो मात्राको खोप आवश्यक भएकोले सो खोप कहिले दिने भन्ने कुराको टुङ्गो नलागेको स्वास्थ्य कार्यालयका खोप अधिकृत सिंहले बताए।

पहिलो मात्राको खोप भारत सरकारको सहयोगमा आएको कोभिशिल्ड दिइए पनि दोस्रो मात्राको खोप भने कोभिशिल्डको विकल्पमा अस्ट्राजेनिका दिइने बताइएको छ। तर कहिले दिने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागेको छैन। तीन चरणमा पहिलो मात्राको खोप चैत ४ गतेसम्म लगाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here