प्रस, वीरगंज, २७ जेठ/

नारायणी अस्पताल विकास समितिको पहलमा बिहीवार पर्सा जिल्लाका पालिका प्रमुखहरूको संयुक्त बैठक बसेको छ।

विकास समितिको सभाहलमा सम्पन्न बैठकले अस्पताल समन्वय समिति गठन गर्ने तथा कोष स्थापना गर्नेसम्बन्धी निर्णय गरेको बैठकमा सहभागी एमाले पर्साका प्रतिनिधि महेश दासले बताए। बैठकमा सबै पालिकाका प्रमुख रहने गरी अस्पताल समन्वय समितिको सञ्चालक समिति गठन गर्ने र २ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय भएको छ। सो कोषमा वीरगंज महानगरपालिकाले ४० लाख, ३ वटा नगरपालिकाले २०/२० लाख र १० वटा गाउँपालिकाले १०/१० लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको छ।

बैठकले अस्पतालमा देखिएका समस्या समाधान गर्न र समयसापेक्ष सेवा स्तरोन्नति गर्न केन्द्र र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको एमालेका दासले बताए। बैठक अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभको अध्यक्षतामा बसेको थियो। बैठकमा गापाका प्रमुख, प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पताल विकास समितिका सदस्य, मेडिकल सुपरिटेन्डेन्टलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here