काठमाडौं, २७ जेठ/रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिशमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका छन्। उनले नेकपा (एमाले) र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठजनालाई सहभागी गराइ २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रोपटक मन्त्रिपरिषद्को विस्तार हो। नवनियुक्त मन्त्रीहरूको आजै शपथ भयो।
विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपीशर्मा ओलीले राखेका छन् भने गृह खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपक्षी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री नियुक्त भएका छन्।
यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ।