वीरगंज पठाइयो रेमडेसिविर, फैविपिराविर र कोभिहल्ट आयातमा सरकार मौन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

राधेश्याम पटेल, वीरगंज, ८ भदौ/
    रेमडेसिविर औषधिको नेपालमा वैधानिक आयात हुन थालेपछि कोरोना सङ्क्रमितहरूको उपचारमा सहज हुने चिकित्सकहरूले जनाएका छन्।
    एन्टिरेट्रो भाइरल ड्रगको रूपमा रहेको रेमडेसिविर युरोप र भारतमा उपयोगी मानिएकाले सरकारले औषधि व्यवस्था विभागमा दर्ता गरी आयात नगरे तस्करीको माध्यमबाट उक्त औषधि मगाएर सङ्क्रमितहरूको ज्यान बचाउने पीडित परिवार र चिकित्सकले चेतावनी दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागमा सो औषधि दर्ता गरी आयात शुरू गरिसकेको छ।
    नेपालका तीनवटा व्यावसायिक घरानाले उक्त औषधि आयात गर्न थालेपछि नेपाल सरकारले कोरोना सङ्क्रमितको लागि सातवटै प्रदेशमा इन्जेक्शनको रूपमा रहेको रेमडेसिविर औषधि पठाउन शुरू गरेको छ।
    प्रदेश २ को पर्सामा साउन ६ गते मन्त्रालयले सय भाइल रेमडेसिविर पठाएको छ। पर्सामा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोले जिल्ला प्रशासन कार्यालय, पर्साको सिफारिशमा आवश्यक परेका सङ्क्रमितलाई निजकै स्वीकृतिमा उक्त इन्जेक्शन लगाउन निर्देशन आएको कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुल हैस अन्सारीले बताए।
    उनले भने, “सय भाइल रेमडेसिविर अहिले वीरगंज हेल्थकेयरमैं राखिएको छ, नारायणी अस्पताल, गण्डक हस्पिटल तथा वीरगंज हेल्थकेयरमा भर्ती सङ्क्रमितलाई मात्र सशर्त औषधि उपलब्ध गराउन भनिएको छ। एकजना सङ्क्रमितलाई एक डोजमा न्यूनतम ५ भाइल इन्जेक्शन लगाउन सकिने उनले बताए। सङ्क्रमितले स्वीकृति दिएपछि प्रतिभाइल सरकारी दरमा रु ७ हजार ६ सयमा उपलब्ध गराइन्छ।”
रेमडेसिविरको कालोबजारी रोकिने
    डा अन्सारीले एकजना सङ्क्रमितले ५ भाइल रेमडेसिविर लगायो भने रु ३८ हजार जति पर्ने बताए। केही दिनदेखि वीरगंजका आठजना ड्रग माफियाले भारतबाट उक्त औषधि अवैधरूपमा मगाएर मनोमानी दरमा बेच्दै आएको गुनासो बढेको थियो।
    वीरगंजका पुराना औषधि आयातकर्ता माफियाहरूले नै भारतबाट भारु ५ हजारमा खरीद गरी रक्सौलको ग्रामीण नाकाबाट मगाएर वीरगंजमा प्रतिभाइल २० हजारदेखि ४० हजार रुपैयाँसम्ममा बेच्दै आएको एकजना चिकित्सकले बताए। तस्करीको बाटोबाट भित्रिएको रेमडेसिविर तस्करले वीरगंजमा रु ४० हजारमा र काठमाडौंमा रु ६० हजारसम्ममा बेच्ने गरेको उनले बताए। वैधानिकरूपमा औषधि भित्रिएपछि कालोबजारी रोकिने उनले बताए।
रेमडेसिविरको सट्टा फैविपिराविर र कोभिहल्ट आयात गरौं
    कोरोना सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रेमडेसिविरपछि सस्तो दरमा उपलब्ध हुने फैविपिराविर र कोभिहल्ट ट्याबलेट आयात गर्न माग बढ्दै गएको छ। यी औषधि पनि एन्टिरेट्रो भाइरल ड्रगको रूपमा मानिएको छ।
    नारायणी अस्पताल विकास समितिका पूर्वअध्यक्ष विनोद गुप्ताका अनुसार यी औषधिले पनि निमोनिया सङ्क्रमण फैलावटलाई घटाउने भएकोले नेपालजस्तो विकासशील देशमा यी औषधिको आयातमा ढिलाइ गर्न नहुने बताए। उनले भने, “रेमडेसिविर जस्तै यी औषधिले पनि निमोनिया बढाउने चेन क्रमलाई तोड्छ। रेमडेसिविर धनाढ्य परिवारले उपभोग गर्न सक्छन् भने गरीबको लागि यी औषधि आयात गरियो भने कोरोना महामारीसँग लड्न मदत मिल्नेछ।”
    उनले यस विषयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानसँग पनि छलफल भएको र उनले पनि यी औषधि आयातले कोरोना सङ्क्रमितको उपचारमा सहजता हुने बताए। नारायणी अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले औषधि व्यवस्था विभागमा यी औषधि आयात गरी सहज वातावरण बनाउन आग्रह गरे। फैविपिराविर औषधि भारतका विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका छन्, यसको एउटा ट्याबलेटको नेपाली मूल्य रु ७३ पर्छ भने भारतको लुपिन फर्मास्युटिकल्सले भर्खरै आविष्कार गरेको कोभिहल्ट एउटा ट्याबलेटको रु ८ मात्र पर्छ। अहिले यी औषधि भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमितलाई चलाइँदैछ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।