प्रस, जनकपुरधाम, २४ जेठ/
प्रदेश २ सरकारबाट चारजना मन्त्रीलाई बर्खास्त गरिएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो।
मुख्यमन्त्री लालबाबू राउत गद्दीले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका थिए।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरे। प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री गद्दीलाई भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।
विजयकुमार यादवलाई पूर्ववत् आर्थिक मामिला तथा योजना, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, नवलकिशोर साहलाई सामाजिक र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।
एउटा सुटकेश लिएर बाहिरिए मन्त्री सोनल
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल सोमवार बिहानै एउटा सुटकेश लिएर मन्त्री निवासबाट बाहिरिए। बाहिरिने क्रममा उनले पार्टीले प्रदेशको राजनीति गर्न पठाएको छ, र प्रदेशको राजनीति गर्ने बताए।
उनले आफ्नो कार्यकालमा काम गर्न सहयोग गरेका सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरे। उनले भने– “प्रदेश २ लाई समृद्ध बनाउन काम गर्ने क्रममा कुनै पनि दिन आराम गरेको मलाई याद छैन। लोकतान्त्रिक विधि र शासनलाई आत्मसात् गर्दै क्षेत्र, जिल्ला र प्रदेश तथा देशको जनताप्रति प्रतिबद्ध रहनेछु।”