महोत्तरी, २४ जेठ/रासस

महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मचाएको छ।

सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ। घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मदतले हात्ती वनतिर लखेटेको इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। तीनवटा हात्ती रहेको सो समूह अहिले जङ्गल पसेको छ। बस्ती पसेको हात्तीले ठाउँ–ठाउँमा केराका थाम, उखु र ओलका बोट उखेलेर सोत्तर बनाएको छ। जङ्गली हात्तीको गतिविधि बढेपछि सर्वसाधारण डराएका छन्। अब घाँस दाउरा गर्न, वस्तु चराउन र खेतबारी डुल्न जान पनि डरलाग्दो भएको सर्वसाधारणको भनाइ छ।

महोत्तरी, सर्लाही र धनुषाको उत्तरी भेगका चुरे क्षेत्रनजीकका बस्तीमा बर्सेनि जङ्गली हात्तीले आतङ्क मचाउँदै आएको छ। चितवन निकुञ्जबाट हात्ती यता आउने गरेको बताइएको छ। पछिल्ला चार/पाँच वर्षयता महोत्तरीका चुरेनजीकका बस्तीमा तीनवटा हात्ती नै पस्दै आएको हुँदा उही हात्ती बर्सेनि पसेको हुन सक्ने बर्दिबास–३ पाटुका सुदर्शन घिमिरेले बताए। जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भब्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहित बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाका वनप्लटनजीकका बस्तीमा उत्पात मचाउँदै आएको छ।

हात्तीको यही समूहले छिमेकी जिल्ला धनुषाको ढल्केबरमा पछिल्ला चार वर्षमा दुईजनाको ज्यान लिइसकेको छ। आहाराको खोजीमा भौतारिंदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here