प्रस, परवानीपुर, २२ जेठ/
वीरगंजमा कोरोना सङ्क्रमण घटेपछि सरकारी तथा निजी विद्यालय भौतिकरूपमा खुल्ला गरी पठनपाठन गराउन वीरगंज महानगरले निर्देशन गरेको छ ।
सूचना जारी गर्दै कक्षा ८ देखि १२ सम्मका कक्षाको पठनपाठन शुरू गर्न निर्देशन दिइएको नगरप्रमुख विजयकुमार सरावगाीले बताए ।
उनले आइतवारदेखि नै विद्यालय सफा गर्न भनेका र जेठ मसान्तभित्र सबै तहका कक्षाको निर्देशनबमोजिम नतीजा तयार पार्न निर्देशन दिएको र असार १ गतेदेखि विद्यालय खोलेर अन्य गतिविधि शुरू गर्न भनिएको बताए ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कणर्ले सूचना जारी गर्दै विद्यालय खोल्ने निर्देशन दिइएको बताए । शिक्षा अधिकृत हरि राउतले सूचनामा नतीजा कसरी तयार पार्नेबारे उल्लेख गरिएको जानकारी गराए ।
वीरगंज महानगरले जारी सूचनामा असार १ गतेदेखि विद्यालय खोलेर असार ७ सम्म विद्यार्थी भर्ना अभियान र असार १५ सम्म घरदैलो अभियान सञ्चालन गर्न पनि भनेको छ । त्यसपछि असारको १६ गतेपश्चात् भौतिकरूपमैं कक्षा शुरू गर्न निर्देशन जारी गरिएको छ ।
शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतका अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालयमा पठनपाठन शुरू गरिने र पछि अवस्था सहज बन्दै गएपछि अन्य कक्षाको बारेमा पनि सोचिनेछ । महानगरले स्वास्थ्य मापदण्डका ७ वटा बुँदामा लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्नुपर्ने बताएको छ ।
सवारीसाधन (स्कूल बस) सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरू विद्यालय र अभिभावकबीच सहमति गरी लागू गर्नुपर्ने र कुनै विषम परिस्थिति देखिएमा जानकारी गराउनुपर्ने जस्ता शर्त राखिएका छन् ।
वीरगंज महानगरपालिकामा ८९ वटा सामुदायिक र १४० भन्दा बढी निजी विद्यालय छन् ।