प्रस, रौतहट २२ जेठ/
नेपाल पत्रकार महासङ्घको आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट निर्माणसम्बन्धी छलफल कार्यक्रम चन्द्रनिगाहपुरमा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शिव पुरीले इच्छाशक्ति र सकारात्मक सोच भए कुनै पनि कार्यमा सफलता हासिल गर्न सकिने बताए । सङ्गठनमा एकता कायम गर्न जरुरी रहेको बताउँदै सङ्गठनप्रति वफादार भएर काम गर्न उनले आग्रह गरे । रौतहटका पत्रकारहरूलाई आवश्यक पर्ने कार्यक्रम बनाउन उनले बताए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाले स्रोत र साधनको पहिचान गरी क्षमता अभिवृद्धि तालीम, दीर्घकालीन बीमा, सञ्चार कानून तालीम, २० वर्ष पुगेका पत्रकारहरूका लागि भत्ताको व्यवस्था, साना मिडियाहरूको लागि पत्रकारिता प्रवर्धनलगायतका कार्यक्रम पारित गर्न सुझाव दिए ।
कार्यक्रममा महासङ्घका सल्लाहकार सञ्जय कार्की, गौतम श्रेष्ठ, प्रभात झा, फणि महत, सञ्जय मिश्र, सजय साह, रमेश तिमिल्सिना, विना राउत, रामप्रवेश बैठालगायतका पत्रकारहरूले सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममाथि उपाध्यक्ष प्रवीण शर्माले प्रकाश पारेका थिए भने सचिव मदन ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए ।