काठमाडौं, २१ जेठ/रासस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश नं २ को सरकार पुनर्गठनबारे छलफल भएको छ।
आज उपसभापति निधिको निवास नयाँ बानेश्वरमा भएको भेटमा उनीहरूबीच प्रदेश र सङ्घको राजनीतिक समीकरणबारेमा छलफल भएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। भेटमा अध्यक्ष यादवले हाल केन्द्रमा बनेको काङ्ग्रेसहितका दलहरूको गठबन्धनलाई निरन्तररूपमा अघि बढाउनुपर्ने र प्रदेश नं २ को सरकारमा काङ्ग्रेसलाई सहभागी हुनसमेत आग्रह गरेका थिए।
उपसभापति निधिले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिंदै जसपाले प्रदेश नं २ सरकारको नेतृत्व तीन वर्ष गरिसकेकोले आगामी दिनमा मुख्यमन्त्रीको नेतृत्व काङ्ग्रेसलाई दिन आग्रह गरेका थिए। अध्यक्ष यादवले भने मुख्यमन्त्री नभई सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
साथै उनीहरूबीच प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुङ्गो लगाउने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार दाहालले बताए। अध्यक्ष यादव आजै जनकपुर गएका र काठमाडौं फर्केपछि सो विषयमा थप छलफल हुनेछ।